काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा दुई खर्ब ३३ अर्ब ३८ करोड ८७ लाख २९ हजार छ सय रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो निष्क्रिय कर्जा चालू आर्थिक वर्षको पहिलो चार महिनामा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित ५४ वटा संस्थाहरूको हो ।
कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ छ । जसमध्ये चार दशमलव ४२ प्रतिशत निष्क्रिय कर्जा देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ अर्ब २४ करोड ९६ लाख ७१ हजार चार सय रुपैयाँले बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४९ खर्ब ७६ अर्ब ४७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६६ प्रतिशत अर्थात् एक खर्ब ८२ अर्ब ३९ करोड ५८ हजार दुई सय रुपैयाँ निष्क्रिय कर्जा थियो । कुनै पनि व्यवसाय गर्ने भनेर ऋण लिने व्यक्ति तथा संस्थाले समयमा तिर्न नसकि भाका नाघेको कर्जालाई निष्क्रिय कर्जा भनिन्छ । भाका नाघ्नु भनेको व्यवसाय चल्न नसक्नु हो । यदि ऋण लगानी गरेको व्यवसाय राम्रोसँग चलेको थियो भने ऋणको साँवा तथा ब्याज समयमा भुक्तानी हुन्थ्यो ।
राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूले ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको चार दशमलव २८ प्रतिशत अर्थात् एक खर्ब ९९ अर्ब ९० करोड ३२ लाख ६३ हजार छ सय रुपैयाँ निष्क्रिय कर्जा छ । जुन एक वर्षअघिको तुलनामा ४१ अर्ब पाँच करोड ८५ लाख ७० हजार छ सय रुपैयाँले बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६१ प्रतिशत अर्थात् एक खर्ब ५८ अर्ब ८४ करोड ९६ लाख ९३ हजार रुपैयाँ निष्क्रिय कर्जा थियो ।
विकास बैंकहरूले भने गत कात्तिक मसान्तसम्म चार खर्ब ६७ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा चार दशमलव ३७ प्रतिशत अर्थात् २२ अर्ब १८ करोड ३७ लाख ३६ हजार नौ सय रुपैयाँ निष्क्रिय कर्जा थियो । जुन एक वर्षअघिको तुलनामा छ अर्ब ७९ करोड ५७ लाख ८३ हजार रुपैयाँले बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म विकास बैंकहरूले चार खर्ब ८२ अर्ब ३८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा त्यसको तीन दशमलव १९ प्रतिशत अर्थात् १५ अर्ब ३८ करोड ७९ लाख ५३ हजार नौ सय रुपैयाँ निष्क्रिय कर्जा थियो ।
फाइनान्स कम्पनीहरूले गत कात्तिक मसान्तसम्म कुल एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १० दशमलव ८४ प्रतिशतका दरले हुनआउने ११ अर्ब पाँच करोड ८४ लाख २६ हजार रुपैयाँ निष्क्रिय कर्जा छ । जुन एक वर्षअघिको तुलनामा तीन अर्ब १९ करोड ३४ लाख ७१ हजार आठ सय रुपैयाँ बढी हो । गत वर्ष कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरूले ९३ अर्ब ९६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा त्यसको आठ दशमलव ३७ प्रतिशत अर्थात् सात अर्ब ८६ करोड ४९ लाख ५४ हजार दुई सय रुपैयाँ निष्क्रिय कर्जा थियो ।