काठमाडौं । वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि एक प्रेरणादायी प्रयासस्वरूप जेन गुडाल इन्स्टिच्युट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ‘रेभोल्युसन प्रोजेक्ट’को सहकार्यमा काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा दुई सय ५० वटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविध डा जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरे । साथै, उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिबद्धता र विभिन्न अभ्यासहरूको समेत सह्राना गरे ।
दुई सय ५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपण ‘मियावाकी प्रविधि’बाट गरिएको हो । यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ । यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ, जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थीहरू तथा स्थानीय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्छ । लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेभोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो । यो पहल बैंकको गत महिना सम्पन्न नवौँ आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘एक हजार वटा रुख रोप्ने प्रतिबद्वता’को एक पाटो पनि रहेको छ ।
यस सहकार्यले वातावरणीय संरक्षणको लागि वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाबीचको साझेदारी र यस्ता सामूहिक पहलहरूको महत्वलाई उजागर गर्छ ।