जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष केशव झाको एक सातादेखि निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित भएर ८५ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनका भतिजा नरेश झाले उपचारका क्रममा बिहीबार उनको निधन भएको जानकारी दिए ।
२०५६ सालमा बलरा गाविस अध्यक्ष पदमा निर्वाचित भएका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बलरा नगरपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । समाजसेवी तथा कुशल राजनीतिज्ञ झा पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । झाका श्रीमती, एक छोरा र चार छोरी छन् ।
वडाध्यक्ष मणिभूषण सिंहले बलरा–४ मा झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बिहीबार शोक बिदा दिएको जानकारी दिए । मृदुभाषी स्वभावका झाको निधनले कुशल राजनीतिज्ञ र समावसेवीे गुमाएको उनले बताए । सिंहद्वारा जारी सार्वजनिक सूचनामा वडाभित्रका सम्पूर्ण सरकारी कार्यालय, संस्था तथा विद्यालय बिहीबार बन्द गर्ने निर्णय भएको उल्लेख छ ।
यसैबीच, बिहीबार एक शोक सन्देश जारी गर्दै सङ्घीय सांसद अमरेशकुमार सिंहले बलरा–४ का पूर्ववडाध्यक्ष, कुशल समाजसेवी एवं राजीतिज्ञ झाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा धेर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गरेका छन् ।