काठमाडौं । केही वर्षअगाडि लोडसेडिङ हटाएको भनेर चर्चा बटुलेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले तालिका नै नबनाई औद्योगिक क्षेत्रमा लामो लोडसेडिङ सुरु गरेका छन् भने काठमाडौं उपत्यकालगायत अन्य ठाउँमा साँझ र बेलुकी विनासूचना झ्याप्पझ्याप्प लाइन काटेर आम उपभोक्तालाई हैरानी दिन थालेका छन् ।
उद्योगी तथा व्यवसायीहरुका अनुसार प्राधिकरणले साँझ ५ बजेदेखि नै उद्योगहरुमा लोडसेडिङ गर्न थालेको छ । तर, प्राधिकरणले उनीहरुलाई तालिका भने दिएको छैन । तालिका नै नपाई लोडसेडिङ गर्न परेपछि कामदारहरुलाई कति बजे बिदा दिने भन्ने बारेमा उद्योगीहरु अन्यौलमा परेका छन् ।
‘एक दिन छ बजे लाइन काटियो, अर्को दिन सवा पाँच बजे नै लाइन काटिने जानकारी आयो’, एक उद्योगीले आर्थिक दैनिकसित भने, ‘तालिका थियो भने हामीले उद्योग चलाउने तालिका बनाएर त्यहीअनुसार कामदार बोलाउँथ्यौँ । तर, सवा पाँच बजेट लाइन जान्छ भनेर कामदार बिदा ग¥यो भने छ बजे लाइन काटिदिन्छ । यसले समस्या ल्याएको छ ।’
उद्योगीहरुले पटक–पटक तालिका दिएर मात्र बिजुली कटौती गर्न प्राधिकरणको नेतृत्वसँग आग्रह गर्दै आएको छ । तर, तालिका बनाउँदा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उक्त तालिका प्रकाशन गरेर आफ्नो बदनाम गर्ने बढ्ने भएको कारण प्राधिकरणका एमडी घिसिङले तालिका बनाउन मानिरहेका छैनन् ।
२०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि प्राधिकरणले घरायसी प्रयोजनाका लागि लोडसेडिङ हटाएको थियो । त्यसपछि प्राधिकरणले उद्योग तथा कलकारखानामा बिजुली कटौती गरेर सार्वसाधारणलाई निरन्तर बिजुली दिने प्रयास ग¥यो । त्यतिबेला पनि सुक्खायाम लागेपछि प्राधिकरणले भारतबाट बिजुली आयात बढाएर सर्वसाधारण उपभोक्तालाई बत्ति बाल्नका लागि मात्र निरन्तर बिजुली दियो । प्राधिकरणले आफूले पैसा कमाएर भारतबाट बिजुली खरिद गरेको थिएन । नेपाल सरकारले नै भारतबाट बिजुली किनेर प्राधिकरणलाई दिएको थियो । किनकि भारतबाट महँगोमा खरिद गरेको र नेपालमा सस्तोमा बिक्री गरेको बीचको मूल्यको रकम अर्थ मन्त्रालयले निकासा गरेर प्राधिकरणले भारतलाई भुक्तानी गर्ने गरेको थियो । तर, कुलमानले आफ्नै नेतृत्वमा रहेको प्राधिकरणले नै पैसा कमाएर भारतबाट बिजुली खरिद गरेर ल्याएर सर्वसाधारणलाई बिक्री गरेको जसरी प्रचार गराए । त्यो गलत प्रचारका लागि केही सञ्चार माध्यमका केही सञ्चारकर्मीलाई उनले दुरुपयोग नै गरेका थिए ।
‘त्यतिबेला प्राधिकरणले भन्दा पनि नेपाल सरकार (अर्थ मन्त्रालय)ले बिजुली खरिद गरेर दिएको थियो । प्राधिकरणसँग बिजुली खरिद गर्ने पैसा नै थिएन । अर्थले दिएको थिएन भने २०७३ सालको हिउँदमा लोडसेडिङ हट्ने अवस्था थिएन । तर, प्रचार भने कुलमानले मात्र लोडसेडिङ हटाएको भनेर प्रचार गरेर नेपाल सरकार र अर्थ मन्त्रालयको भूमिकालाई लुकाउने र छोप्ने काम गरियो’, ऊर्जा मन्त्रालयका एक उपसचिवले भने, ‘अहिलेको लोडसेडिङ भने कुलमानको व्यवस्पन पक्ष कमजोर भएर भएको हो । तामाकोशीलगायत आयोजनालाई उनले समयमा मर्मत गर्न नै सकेनन् भने भारतबाट बिजुली खरिदका लागि समयमा पहल नै गरेनन् ।’
प्राधिकरणलाई यो वर्षको हिउँदमा पाँचदेखि छ सय मेगावाट बिजुली अपुग हुने प्रक्षेपण प्राधिकरणले गरिसकेको थियो । तर, उसले वैकल्पिक व्यवस्था नै गरेन । गत असोजको बाढी र पहिरोको कारण क्षति पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोशीलाई समयमा मर्मत गर्नेतर्फ कुलमानले ताकेता नै गरेनन् । यदि तामाकोशी समयमा मर्मत भएको थियो भने भारतबाट थप हुने बिजुलीको कारण लोडसेडिङको व्यवस्थापनम सहजता हुने थियो ।
उद्योगीहरुले महँगोमा बिजुली खरिद गरेर भए पनि उद्योगहरुमा बिजुली दिन भनेका छन् तर प्राधिरकणका एमडी घिसिङले त्यसतर्फ पहल नै गरेनन् । उनले सरकारले गर्दा लोडसेडिङ भएको भनेर प्रचारको रणनीति लिएको बुझिन्छ । प्राधिकरणले भारतबाट आउँदो चैत २ गतेसम्मका लागि ढल्केबर–मुजफ्फपुर, टनकपुर–महेन्द्रनगरबाट दैनिक छ सय ५४ मेगावाट बिजुली लिने गरी सम्झौता गरेको छ । तर, साँझको समयमा त्यो बिजुली लिन सकेको छैन भने नेपालमा पनि क्षतिग्रस्त आयोजनाहरु समयमा मर्मत गर्न सकेको छैन । यसले लोडसेडिङ हुने हो कि भन्ने त्रासमा सर्वसाधारण छन् । लोडसेडिङ गर्न पर्ने अवस्था आएपछि प्राधिकरणले मर्मतको नाममा विभिन्न क्षेत्रमा दैनिक दुई÷चार घण्टा लाइन काटेर लोड व्यवस्थापन गर्ने रणनीतिसमेत बनाएको प्राधिकरण स्रोतको दाबी छ ।