बनियानी (झापा) । नगरपालिकामा बिहीबार आयोजित एक कार्यक्रममा अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटीबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
दुवै भगिनी सम्बन्ध स्थापित गरेर अगाडि बढ्ने प्रतिबद्धतासहित अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन र जापानको टोनो सिटीका मेयर काजुहिको ताडाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
नगरप्रमुख गोम्देनले कृषि र स्वास्थ्य क्षेत्र साथै विभिन्न क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको बताए । जापानको तोनो सिटीका मेयर ताडासहितको ११ जनाको टोली मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि अर्जुनधारा नगरपालिका आएको उनले बताए । मेयर ताडासहितको टोलीले अर्जुनधारामा स्थापना भएको विपद् केन्द्र र कृषि बजारको स्थलगत अवलोकन पनि गरेका छन् ।
उनीहरूको टोलीलाई नगर परिसरमा नौमती बाजासहित स्वागत गरिएको थियो । जापानको टोलीमा मेयर काजुहिको ताडासहित ‘डाइरेक्टर अफ इण्डष्ट्री डिपार्टमेन्ट मानमी सासाकी, इण्डष्ट्री प्लानिङ डिभिजन चिफ इग्जानमिनर यासुहिको कुराउची, चेरमेन अफ सिटी काउन्सिल तसुतोमु ताडा, भाइस चेयरमेन अफ द स्टाण्डिङ कमिटी अन इन्डस्ट्री एण्ड कन्ट्रक्सन हिरोसी किकोची, स्टाण्डिङ कमिटी मेम्बर फर इण्डष्ट्री एण्ड कन्ट्रक्सन योसियुकी किकुची, प्रेसिडेन्ट एण्ड सिइओ अफ सुकुभा प्रिसिजन यासुसी किकुचीलगायत सहभागी छन् ।