भारत, असार ३०
इन्टरनेटमा खोजीसम्बन्धी कम्पनी गुगलले भारतमा आगामी ५ देखि ७ वर्षसम्ममा १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी सुन्दर पिचाईले यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ । ‘भारतका लागि गुगल’ अनलाइन वार्षिक कार्यक्रमलाई सम्बोधन गर्दैै उनले लगानीको घोषणा गरेका हुन् । उक्त लगानी वस्तु र सेवा उत्पादनमा खर्च हुनेछ भने व्यवसायको डिजिटाइजेसन र प्रविधि प्रयोगमा खर्च हुनेछ ।
भारतले डिजिटल अर्थतन्त्रलाई जोड दिइरहेकाले गुगलले त्यसमा सहयोग गर्ने हेतुले लगानी घोषणा गरेको हो । भारतमा ५० करोड सक्रिय इन्टरनेट प्रयोगकर्ता छन् । यस अर्थमा भारत गुगलको ठूलो सम्भावनायुक्त बजार हो । घोषित लगानी रकम गुगल फर इन्डिया डिजिटाइजेसन फन्डबाट आउनेछ । उक्त फन्डले चार क्षेत्रलाई समेट्नेछ । त्यसमा हरेक भारतीयलाई आफ्नै भाषामा सूचना प्राप्त गर्ने पहुँच दिने, भारतीयको आवश्यकतालाई सम्बोधन गर्ने गरी वस्तु र सेवा उत्पादन गर्ने, स्थानीय व्यवसाय जो डिजिटल रुपान्तरण हुन चाहन्छन्, उनीहरुलाई सशक्तीकरण गर्ने र स्वास्थ्य, शिक्षा र कृषिजस्ता क्षेत्रमा सामाजिक सहयोगका लागि प्रविधि र एआई सुविधा दिने लगायत छन् । अमेरिकी कम्पनीका सीईओ पिचाईले प्रधानमन्त्री नरेन्द्र मोदीको डिजिटल इन्डिया परियोजनाको खुलेर प्रशंसा गरे ।