काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको अहिलेको स्थितिमा सुधार ल्याउन सरकारले प्रयास गरिरहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरताको जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत अवस्था सुधार्न सरकारले काम गरिरहेको बताए ।
पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामो समय नटिक्दा जनतामा बढेको निराशा चिर्नका लागि अहिलेको सत्तागठबन्धन बनेको पनि उनले प्रष्ट पारे । राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।
सो अवसरमा उपप्रधानमन्त्री सिंहले लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चन्द्रागिरी चित्लाङ सडकको अवलोकन पनि गरे । सडक निर्माण कार्य सुरू भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरी चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए । उनले निर्माण कार्यमा ढिलाइ गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए । राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बागमती प्रदेशको राजधानी जोड्ने मार्ग भएको कारणले गर्दा यो सडकको आकर्षण बेग्लै हुने उनले बताए ।
विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहे पनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगै सबैको साथ जरूरी हुने पनि बताए । चुनावका क्रममा कुनै दलबाट उम्मेदवार बने पनि जितेपछि जनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए ।