पोखरा । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनीहरूविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।
सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, रामबहादुर खनाल, लिला पछाई र कृष्णबहादुर गुरुङविरिुद्ध पनि सहकारी ठगी, संगठीत अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ रुपैयाँ, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ, पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् । यस्तै सहकारी ठगीमा जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार रुपैयाँ र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ ।
उनीहरूसहित विभिन्न आठवटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै पाँच जनाको सम्पत्ति जफत गर्नुपर्ने माग पनि सरकारी वकिलको कार्यालयको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा र सहकारी ठगीमा ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।