काठमाडौं । निर्यातजन्य सामग्रीमा पर्याप्त लगानी गर्न नसक्दा त्यसको असर वैदेशिक व्यापारमा देखिएको छ । निर्यातजन्य वस्तुहरूको उत्पादन बढाउन नसक्दा निर्यात न्यून छ । चालू आर्थिक वर्षको पाँच महिनामा पाँच खर्ब ८७ अर्ब ८२ करोड रुपैयाँ व्यापार घाटा भएको छ । नेपालले सबैभन्दा बढी भारतसँग व्यापार घाटा रहेको छ । पाँच महिनाको अवधिमा भारतबाट चार खर्ब १० अर्ब ५५ करोड रुपैयाँको आयात भएको छ भने ५२ अर्ब एक करोड रुपैयाँको निर्यात भएको छ । भारतसँग तीन खर्ब ५८ अर्ब ५४ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भारतपछि बढी व्यापार घाटा चीनसँग छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चीनसँग एक खर्ब २९ अर्ब ६३ करोड रुपैयाँ व्यापार घाटा छ । एक खर्ब ३१ अर्ब ३७ करोड रुपैयाँको आयात हुदाँ चीनमा एक अर्ब ७४ करोड ५८ लाख रुपैयाँको निर्यात भएको छ ।
भारत र चीनपछि अर्जेन्टिना, युक्रेन अष्ट्रेलिया, थाइल्यान्ड, इन्डोनेसियालगायतका मुलुकसँग व्यापार घाटा भएको छ । समीक्षा अवधिमा नेपालले अर्जेन्टिनासँग ११ अर्ब ७९ करोड रुपैयाँ, युक्रेनसँग १० अर्ब ५६ करोड रुपैयाँ, अष्ट्रेलियासँग सात अर्ब २० करोड रुपैयाँ व्यापार घाटा बेहोरेको छ । नेपालको द्विपक्षीय व्यापार एक सय ४९ वटा मुलुकसँग हुनेगरेको छ । जसमा एक सय १९ वटा मुलुकसँग व्यापार घाटा छ भने ३० वटा मुलुकसँग नाफा छ । कृषि उत्पादनका साथै औद्योगिक उत्पादनमा वृद्धि गर्न नसक्दा नेपालले तेस्रो मुलुकसँगको व्यापारमा घाटा बेहोरेको विज्ञहरू बताउँछन् । कृषिप्रधान देश भनिए पनि कृषि उपज नै अर्बौँको आयात हुँदा व्यापारमा सुधार नदेखिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. सुमनकुमार रेग्मी बताउँछन् । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु, अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुँदा निर्यात व्यापारमा वृद्धि हुन नसकेको उनको भनाइ छ ।
हाम्रो समाजमा उद्योगीभन्दा पनि बढी व्यवसायी हाबी हुँदा व्यापारमा निराशाजनक स्थित रहेको अर्थात् व्यापार घाटा उच्च रहेको उद्योग मन्त्रालयका एक अधिकारीले बताए । हामीमा उद्योगीभन्दा बढी व्यवसायी रहेका छन् जसले गर्दा उत्पादनभन्दा बढी व्यवसायमा लगानी गर्दा नेपालले तेस्रो मुलुकसँगको व्यपारमा नाफा कमाउने नसकेको ती अधिकारीले बताए । निजी क्षेत्र भने सरकारले वातावरण बनाउन नसक्दा औद्योगिक विकास हुन नसकेको दाबी गर्दै आएको छ । सीमित मुलुकबाहेक नेपालको धेरै मुलुकसँगको व्यापारमा घाटा भएको छ । नाफा रहेको मुलुकसँग पनि नाफा कहिलेसम्म लिनसक्ने भन्ने यकिन छैन । नाफा भएका मुलुकहरूमा निर्यातयोग्य सामग्रीहरू के–कस्ता र कति परिमाणमा गर्न सकिन्छ भन्ने यकिन नरहेको जानकारहरू बताउँछन् ।
चालू आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी नाफा अफगानस्तिानसँग भएको छ । अफगानिस्तानसँग ३९ करोड ५७ लाख रुपैयाँ नाफा भएको छ । ४० करोड ८१ लाख रुपैयाँको निर्यात हुँदा एक करोड २३ लाख रुपैयाँको आयात भएको छ । दोस्रोमा डेनमार्कसँग १८ करोड ९५ लाख रुपैयाँ नाफा भएको छ । २९ करोड आठ लाख रुपैयाँको निर्यात र १० करोड १३ लाख रुपैयाँको आयात भएको छ । अफगानिस्तान, डेनमार्कपछि अष्ट्रिया, ल्यटिभा, माल्दिभ्सलगायतका मुलुकसँगको व्यापारमा नाफा भएको छ । समीक्षा अवधिमा अष्ट्रियासँग सात कारोड ८० लाख रुपैयाँ, ल्यटिभासँग एक करोड ७४ लाख रुपैयाँ र माल्दिभ्ससँग एक करोड ४५ लाख रुपैयाँ नाफा रहेको छ ।
विभागका अनुसार पाँच महिनाको अवधिमा व्यापार घाटा भने एक दशमलव ५२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा पाँच खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ व्यापार घाटा थियो । वैदेशिक व्यापारलाई हेर्दा भान्सामा प्रयोग हुने कृषि उपजदेखि लिएर महँगा सवारीसाधन, पेट्रोलियम पदार्थलगायतका अधिकांश सामग्रीहरू आयात गर्नुपर्ने अवस्थाका कारण मुलुकको व्यापार सदैव घाटामा रहेको अर्थविद्हरू बताउँछन् । सरकारले कृषिजन्य उत्पादन र औद्योगिक उत्पादनलाई बढुवा नदिँदा र वास्तिविक कृषकलाई नसमेट्दा हालको समस्या देखिएको अर्थविद् केशव आचार्यले बताए । सरकार र निजी क्षेत्र मिलेर कृषि, मत्स्यउत्पादन बढुवा गर्न र औद्योगीकरणका लागि पर्याप्त लगानी गर्न नसक्दा समस्या भएको आचार्यको भनाइ छ । लगानी जोखिम, ढुवानी लागत बढी आदिले गर्दा निर्यात गर्न नसकिएको अर्थविद्हरू बताउँछन् ।
विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा निर्यात ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ५४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको निर्यात भएको छ । नेपालको निर्यात क्षेत्रले सीमित विविधीकरण, कम उत्पादकत्व र मूल्यवान् वस्तुहरूको अभावजस्ता चुनौतीको सामना गरिरहेको छ । कपडा, गलैँचा र कृषि उत्पानलगायत प्रमुख निर्यातहरू प्रायः सानो मात्रामा उत्पादन गरिन्छ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाको अभाव रहेको छ । यसैबीच वैदेशिक व्यापार भने गत आर्थिक वर्षको तुलनामा चार दशमलव २१ प्रतिशतले बढेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा सात खर्ब ३५ अर्ब १४ करोड करोड रुपैयाँको कुल वैदेशिक व्यापार रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक व्यापार सात खर्ब पाँच अर्ब ४१ करोड रुपैयाँको रहेको थियो ।
४० अर्ब ६४ करोडको पेट्रोलियम इन्धन आयात
विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा बढी परिणाममा पेट्रोलियम पदार्थको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थमध्ये डिजेल १८ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ, पेट्रोल १७ अर्ब ३४ करोड ९९ लाख रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास चार अर्ब ५१ करोड ८८ लाख रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम सवारीसाधन चार अर्ब ६३ करोड रुपैयाँ, विद्युतीय सवारीसाधन चार अर्ब ३९ करोड ५० लाख रुपैयाँ, मोटरसाइकल तीन अर्ब ६३ करोड रुपैयाँ, फलामजन्य सामग्री तीन अर्ब ३० करोड रुपैयाँको आयात गरिएको छ । मोबाइल, कच्चा सूर्यमूखी, हवाई इन्धनलगायतका सामग्री पनि अर्बौँ बराबरको आयात गरिएको छ । उच्च आयातका कारण समीक्षा अवधिमा छ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको आयात व्यापार रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशतले वृद्धिदर हो । गत आर्थिक वर्षमा छ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात व्यापार रहेको थियो ।
साढे ८ अर्बको भटमास तेल निर्यात
सबैभन्दा बढी भटमासको तेल आयात भएको छ । त्यसपछि, गलैँचा, अलैँचीलगायतका सामग्री निर्यात भएको छ । पाँच महिनामा भटमासको तेल आठ अर्ब ३६ करोड रुपैयाँ, गलैँचा चार अर्ब ९६ करोड रुपैयाँ, अलैची तीन अर्ब ४५ करोड रुपैयाँको निर्यात भएको छ । सूर्यमूखी तेल दुई अर्ब ९७ करोड रुपैयाँ, चिया दुई अर्ब ७१ करोड रुपैयाँ, यार्न दुई अर्ब ४१ करोड रुपैयाँ, फेल्ट दुई अर्ब २० करोड रुपैयाँ र फलाम तथा फलामजन्य सामग्री दुई अर्ब १० करोड रुपैयाँको निर्यात भएको छ ।
जुस, जुटजन्य सामग्री, कपडा, सल र कुकुर बिरालोको खानाको पनि निर्यात उच्च रहेको छ । डा. रेग्मीका अनुसार निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या छ । अरु अन्तर्राष्ट्रिय व्यापारका समस्यामा लगानी एवं व्यापारमैत्री वातावरणको कमी, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसक्नु, आपूर्तिजन्य कठिनाइहरू विद्यमान रहनु, प्रमुख निकासीजन्य वस्तुहरूको गुणस्तरमा कमी, असहज श्रम सम्बन्ध, ऊर्जा समस्याले उत्पादन लागत बढ्नु नेपाली व्यापारको समस्या हुन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय समस्यामा अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित छन् ।