काठमाडौं, असार ३१ नेपाल राष्ट्र बैंकको पोलिमर नोट छपाइसम्बन्धी मुुद्दामा पूर्वगभर्नर डा. तिलक रावलसहित नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’का नेपाली प्रतिनिधि हिमालयबहादुर पाण्डेले विशेष अदालतबाट सफाइ पाएका छन् ।न्यायाधीश शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले मंगलबार सो मुद्दाको फैसला गरेको हो । तिनै जनाविरुद्ध वि.सं. २०७५ पुस ५ गते अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको थियो । नोट छपाइमा दुई करोड ७३ लाख भ्रष्टाचार भएको ठहर गर्दै जनही ९१ लाख नौ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । सो मुुद्दामा अख्तियारको दाबी नपुगेको भन्दै तीनै जनालाई विशेष अदालतले सफाइ दिएको हो ।