काठमाडौं । जुन स्कुलमा पढे, त्यही स्कुलको सञ्चालक बने अस्मिनभन्दा अपत्यारिलो लाग्न सक्छ । तर अस्मिनको हकमा यो सत्य हो । बुबा डाक्टर सुरेन्द्रप्रसाद सिटौला र आमा अधिवक्ता शुभद्रा सिटौला उप्रेतीको कोखबाट काठमाडौंको मालीगाउँमा २०४५ सालमा जन्मिएका सिटौला उद्यम र शिक्षा क्षेत्रका एक हितकारी व्यक्तित्व मात्र होइन समाज सेवा अभियानका एक निरन्तर यात्री पनि हुन् । उनले शिक्षा, उद्यम र समाजसेवाका क्षेत्रमा थुप्रै पसिना बगाउनुका साथै लगानी गरेका छन् ।
बुबाको बिरासतलाई सम्हाल्दै व्यावसायिक कर्म अगाडि बढाउन र त्यो कर्मबाट सिर्जित उपलब्धिलाई समाज सेवामा जोड्दै युवा उद्यमी बन्न सफल भएका अस्मिन समाजका एक असल युवा उद्यमी हुन् । देशमा व्याप्त बेरोजगारी समस्या बढिरहेको, अध्ययन र रोजगारीकै लागि लाखौँ खर्चेर नेपाली विद्यार्थी विदेश पलायन भइरहेको बेला मेहनत र लगानी गरे स्वदेशमै मनग्य आयआर्जन गर्न सकिन्छ भन्ने भनाइलाई सार्थक बनाउन उनी निरन्तर लागि रहेका छन् । उनले गरेको कर्मले केही न केही अर्थतन्त्रमा योगदान दिएको छ, समाजमा कतिपयको रोजीरोटी चलेको छ, कतिपयको जीवनमा शैक्षिक उन्नति भएको छ । उनले उद्यममा लगाएको लगन, बनाएका योजना, शिक्षा क्षेत्रमा चालेका दृढ पाइला, मुलुकभित्रै केही गर्नुपर्छ भन्ने इच्छाशक्तिसहितको प्रतिबद्धता र दरिलो विश्वाससहितको लगानी एवं समाजलाई गरेको योगदान सबैले गर्व गर्न लायक छ । जीवन यात्रामा आइपर्ने सानातिना आरोह अवरोहलाई वास्ता नगर्ने अवसर र चुनौतीलाई चिनेर होसियारीका साथ अगाडि बढने सिटौला शैक्षिक र व्यावसायिक गतिविधिमार्फत समाज परिवर्तन गर्नुपर्छ भन्ने समृद्धिका आकांक्षी हुन् ।
यही आकांक्षा साकार पार्न उनी सन २०१५ देखि हालसम्म बागमती बोर्डिङ सेकेन्डरी स्कुलको निर्देशक भएर त्यसको श्री वृद्धिमा लगिरहेका छन् । सन २०१६ देखि २०२४ सम्म जापानको माउन्ट फुजी स्ट्रिङस् कम्पनीसँग एभरेस्ट वाटर प्रोजेक्टमा ढुवानी तथा बजार बिक्रीवितरण प्रमुख भएर काम गरिहेका थिए । त्यसैगरी उनले सन २०१६ मा आईडी कन्ट्रक्सन प्रालिको अध्यक्ष भएर समेत काम गरे । अस्मिनले २०१९ फेब्रुअरी ४ मा उद्यमशील काँग्रेसको सभापति भई साना उद्यमीका लागि वित्तीय शिक्षा कार्यक्रमअन्तर्गत निक्कै पटक कार्यक्रम सञ्चालन गरेका छन् । सेयर कारोबारमा सुरुवाती लगानीकर्ताका लागि तालिम सञ्चालक भएर समेत समाज सेवाका काम गरेका छन् । सिटौलाले कोभिडका बेला कामनपा ८ का पीडित नागरिकलाई आफ्नै व्यवस्थापनमा राहत वितरण कार्यक्रम सञ्चालन गरेका थिए । आइसोलेसनमा बसेका कामनपा ३० वडाभित्रका नागरिकलाई २० सिलिण्डर अक्सिजन, ५० बण्डलभन्दा बढी माक्स र ५ वटा अक्सिजन कन्सर्नट्रेटर पनि वितरण गर्नुभएको थियो । प्रत्यक्ष राहत वितरण गर्ने कुराको महत्व छँदैछ, त्यसबाहेक उनले सामाजिक सञ्जालमार्फत प्रेरणादायी सामग्री प्रवद्र्धन र प्रसारण गरी सबैलाई यस्ता कार्यमा लाग्न प्रेरणा र सन्देश प्रवाह समेत गरेका थिए ।
त्यसैगरी उनले २०२४ अक्टोबरमा एल्पाइन मिनरल प्रालिको अध्यक्ष भएर काम गर्दै उद्यममा आफूलाई जोड्दै युवा उद्यमीको पहिचान समेत बनाएका छन् । विविध आयाममा आफूलाई स्पातिलो बनाउन चाहने अस्मिनले समाजसेवाअन्तर्गत तत्कालीन सांसद तथा अर्थमन्त्रीसँग पूर्ण बजेट तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरेका थिए भने कपनको शवदाहगृहमा सार्वजनिक शौचालयसहितको किरियापुत्री भवन निमार्ण गरी सांसद गगनकुमार थापाको उपस्थितिमा त्यसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरिदिएका थिए । उनले मन्दिरको सुरक्षार्थ टुँडीखेलस्थित महाकाल भैरव मन्दिर परिसरमा सीसीटीभी क्यामेरा जडान गरी दिएर धर्म र सम्पदाप्रतिको माया झल्काएका थिए ।
समाजसेवामा दिलचस्पी रहेका आस्मिनले आफ्नै व्यक्तिगत सहयोग र अन्य संस्थाहरूको समेत सहयोग जुटाएर असक्त गरिबहरूलाई आर्थिक सहयोग गर्ने, मेहनती तर आर्थिक कारणले पढ्न नसक्ने गरिब जेहेन्दार विद्यार्थीहरूलाई व्यक्तिगत सहयोग र आफ्नै संस्थाबाट छात्रवृत्ति दिलाएर पढाइदिनेलगायत विभिन्न किसिमका सामाजिक सहयोग गरिदिने गर्दै आएका छन् । यो उनको युवा उद्यमका रूपमा समाजप्रतिको जिम्मेवारी बोध र सद्भावपूर्ण कर्म हो । उनले आफू सञ्चालक भएको संस्थामा विभिन्न ब्यक्तित्वलाई ल्याएर विद्यार्थीले बनाएका विभिन्न आविस्कारका प्रदर्शनी गर्ने, अन्तक्र्रिया र खेलकुदका कार्यक्रम गर्ने, स्कुलमा राम्रो नतिजा ल्याउँदा बधाई तथा शुभकामना कार्यक्रम गर्ने कामहरू समेत उनकै सक्रियतामा भएका छन् ।
यस्तै, सन्दर्भमा स्कुलले बोर्ड टप गर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पुरस्कार वितरण र शुभकामना समेत दिएको इतिहास छ । उनी २०६५ सालदेखि शिक्षा क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेका छन् । उनले शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न धेरथोर योगदान दिइरहेका छन् । यो उनको उद्देश्य नै हो । उनले स्कुले जीवनदेखि डिग्री गर्दासम्मै परीक्षामा राम्रो अंक ल्याउन र राम्रो पोजिसनमा कक्षा उत्तीर्ण गर्न पढाइमा मेहनत गर्नेबाहेकका कुनै चुनौतीको सामना गर्न नपरेकोे देखिन्छ । उनले प्रारम्भिक शिक्षादेखि प्लस टुसम्मको शिक्षा अहिले उनले अध्यापन गरिरहेको बाग्मती बोर्डिङ स्कुलबाटै लिएका थिए भने स्नातक र स्नातकोत्तर त्रिभुवन बिश्वविद्यालयबाट लिएका छन् ।