काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुरूप दुई हजार छ सयभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
यी सामग्रीहरू ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिनेछन् । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कुल छ दशमलव ५३ चौका हानेका थिए । यसबापत एनसेल फाउन्डेसनले अब घोषणा गरेबमोजिम कुल २६ सय १२ वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने पक्का भएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीजस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।
एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्ट्सका खेलाडी लाहिरू मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर एक सय ४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै, दोस्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए, यसबाट एक सय २० शैक्षिक सामग्री र तेस्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेलको २६ चौकाबापत एक सय चार शैक्षिक सामग्रीको वितरण पक्का भएको छ । त्यसैगरी चितवन राइनोजका रवीन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर एक सय ९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए ।