काठमाडौं । हुवावे नेपालले हुवावे टावर, हात्तीसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै महत्वपूर्ण माइलस्टोन तय गरेको छ । नेपालका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनी केन्द्रको उद्घाटन गरेका हुन् ।
यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पछिल्ला प्रवृत्तिहरू र अभ्यासहरूलाई प्रदर्शित गर्ने एक महत्वपूर्ण केन्द्रको रूपमा काम गर्ने कम्पनीले जनाएको छ । उद्घाटन समारोहपछि हुवावेको प्रमुख सामाजिक पहल ‘सीड्स फर द फ्युचर’ २०२४ को समापन समारोह समेत आयोजना गरिएको थियो । हुवावेको यस कार्यक्रमअन्तर्गत टेक फोर गुड प्रतियोगितामा सहभागी नेपाली विद्यार्थी टोलीले ‘पिपल्स च्वाइस अवार्ड’ जितेका थिए । यस परियोजनाले ग्रामीण नेपालका गर्भवती महिलाहरूको स्वास्थ्य अनुगमन गर्नको लागि पोर्टेबल अल्ट्रासाउन्ड मेसिनको स्थापना गर्ने प्रस्ताव गरेको हो । हुवावेले २०१९ मा नेपालमा ‘सिड्स फर द युचर’ कार्यक्रमको आरम्भ गरेको थियो । यसले धेरै विद्यार्थीहरूलाई विश्वव्यापी अनुभव र नेतृत्व सीपहरू प्रदान गरेको छ । २०२४ मा, ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा तीन सयभन्दा बढी आवेदन प्राप्त भएका थिए, यसबाट ३० जना विद्यार्थी चयन भएका थिए ।
यस कार्यक्रममा प्राविधिक तालिम, कार्यशाला, मास्टरक्लास र सहकार्य परियोजनाहरू संयोजन गरिएका थिए । कार्यक्रमको समापनमा छ जना उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई चीनमा हुने एसिया–प्यासिफिक डिजिटल ट्यालेन्ट समिट २०२४ मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका थिए, जहाँ उनीहरूले बहुमूल्य अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त गरेका छन् ।