काठमाडौं । लिभिङ विथ आईसीटीले आयोजना गरेको नवौँ संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४’मा विभिन्न १५ विधामा अवार्ड वितरण गरिएको छ । ह्यात रिजेन्सी काठमाडौंमा हालै आयोजना भएको भव्य समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आईसीटी अवार्ड वितरण गरेका थिए ।
यस वर्षको पायोनियर आईसीटी अवार्ड काठमाडौं विश्वविद्यालयका संस्थापक प्राडा सुरेशराज शर्माले प्राप्त गरेका छन् । यस्तै, एनसेल वुमन आइकन नेपाल बैंकका डिजिटल बैंकिङ र कार्ड विभाग प्रमुख बन्दना शर्माले प्राप्त गरिन् भने प्रोफेसनल एक्सिलेन्स आइसिलेन्स आईसीटी अवार्ड नामीका संस्थापक डा विशेष खनालले प्राप्त गरे । इन्टरप्रेनर्स आईसीटी अवार्ड फुडमान्डुका संस्थापक मनोहर अधिकारी र नेपाली डायस्पोरा आईसीटी अवार्ड न्युरल कम्पनीका सह–संस्थापक नामी बरालले प्राप्त गरिन् ।
यसैगरी यस वर्षको इन्ड्राइभ स्टार्टअप आईसीटी अवार्ड क्रिम्सन टेक कम्पनीले जितेको छ भने द एसिया फाउन्डेसन सोसियल इन्नोभेसन आईसीटी अवार्ड जियोकृषिले प्राप्त गरेको छ । यस वर्षको प्रडक्ट आईसीटी अवार्ड एपीआई म्यानेजमेन्ट सिस्टमले प्राप्त गर्यो भने राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड स्पिकअपले जित्न सफल भएको छ । त्यसैगरी सबैभन्दा बढी भोट प्राप्त गरेर हाम्रो पे पब्लिक च्याइस आईसीटी अवार्ड ज्याप सर्भिसेसले प्राप्त गर्यो ।
सातै देशहरूका स्टार्टअपहरू लक्षित गरेर आयोजना गरिएको साउथ स्टार्टअप आईसीटी अवार्ड २०२४ भरतको हाइफन एससीएसले जितेको छ, अवार्डमा उत्कृष्ट पाँचमा पर्न सफल अन्य देशका स्टार्टअपलाई पनि सम्मान गरिएको छ । यसैगरी संस्थागत अवार्ड विधाहरूमा यस वर्षको डिजिटल गभर्नेन्स अवार्ड सर्वोच्च अदालतले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस अवार्ड आइएमई पेले जित्न सफल भएको छ । डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक र प्राइवेट सेक्टरमा क्रमशः सुकुना मावि मोरङ र एलआरआई कलंकीले प्राप्त गरेका छन् ।
कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘रिकग्निसन’ प्रदान गरिएको थियो । यस वर्ष कोशी प्रदेशबाट डेल्टा टेक प्रालि, मधेश प्रदेशबाट तेजस टेक प्रालि, बागमती प्रदेशबाट अभियान्त्रिक कर्मशाला प्रालि, गण्डकी प्रदेशबाट आकाश डिजिटल प्रालि, लुम्बिनी प्रदेशबाट निन्जा इन्फोसिस प्रालि, कर्णाली प्रदेशबाट बिजनेस अनलाइन सर्भिस प्रालि र सुदूरपश्चिम प्रदेशबाट फार वेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२४ बाट सम्मानित भएका छन् ।
आईसीटी अवार्ड २०२४ मा विभिन्न १४ विधामा आठ सय बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो । १४ जना स्वदेशी र तीन जना अन्तर्राष्ट्रिय विज्ञ जुरीहरूले २५ वटा बढी मिटिङहरू सञ्चालन गदै छनोट प्रक्रियालाई सम्पन्न गरेका थिए ।