काठमाडौं । अर्थतन्त्रका केही सूचकहरू राम्रो देखिएको भए पनि केहीले अर्थतन्त्र मन्दीमै रहेको सङ्केत गरेका छन् । आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाउँदै लगेका छन् । तर, बजारमा महँगी बढ्दै गएको छ ।
अहिले बैंकहरूको निक्षेपको औसत ब्याजदर पाँच दशमलव शून्य एक प्रतिशत छ भने मुद्राफीति दर पाँच दशमलव ६० प्रतिशत छ । यसले मुद्रास्फीति दरभन्दा निक्षेपको ब्याजदर तल झरेको देखाउँछ । सामान्यतया निक्षेपको ब्याजदरभन्दा मूल्यवृद्धि (मुद्रास्फीति दर) बढी हुनुपर्छ । ब्याजदर न्यून विन्दुमा झरेपछि अधिकांश बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएनन् । बैंकहरूले निक्षेपको ब्याजदर अहिलेको दरभन्दा तल जान नसक्ने बताएका छन् ।
मुद्रास्फीति दरभन्दा निक्षेपको ब्याजदर कम हुनुलाई अर्थतन्त्रमा मन्दीको सङ्केत देखापरेको रूपमा लिने गरिन्छ । मूुल्यवृद्धि बढी हुनु भनेको उपभोक्ताको क्रयशक्ति घट्नु हो ।
एकातिर बैंकको निक्षेप लगातार बढिरहेको छ भने अर्कोतिर ब्याजदर सस्तो भए पनि कर्जा विस्तार हुन सकिरहेको छैन । महँगीले क्रयशक्ति हुँदा मानिसहरू उपभोग बढाउनभन्दा सस्तो ब्याज पाउने भए पनि बैंकमा निक्षेप राखेर ब्याज खान सुरक्षित ठानिरहेका छन् । अर्कोतर्फ उपभोग बढ्न नसकेपछि निजी क्षेत्रले थप उत्पादन गर्ने स्थिति छैन । मुलुकमा लगानीको वातावरण बन्न नसक्दा निजी क्षेत्रबाट लगानी हुन नसकेको उद्योगी व्यवसायीहरू बताउँछन् । लगानी विस्तार नहुँदासम्म बैंकमा कर्जाको माग बढ्न सक्ने स्थिति नहुने बैंकर बताउँछन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ दशमलव ५० प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । सरकारले छ प्रतिशितको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको र त्यसलाई सहयोग पुग्नेगरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गराउने मौद्रिक नीतिमा उल्लेख छ ।
बैंकहरूले आफूसँग भएको क्षमताअनुसार कर्जा लगानी गर्न सकिरहेका छैनन् । अहिले बैंक तथा वित्तीय संस्थासँग ६६ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन छ । यसमध्ये ५३ खर्ब ३४ अर्ब ऋण लगानी गरेका छन् । बैंकहरूले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशित कायम गरी ऋण लगानी गर्न पाउँछन् । तर अहिले सीडी रेसियो ७८ दशमलव ७८ प्रतिशत छ । यसले बैंकहरूसँग थप छ खर्ब ५८ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ । तर, त्यो पैसा लगानी गर्ने ठाउँ पाएका छैनन् । यसको मुख्य कारण अर्थतन्त्र अझै पनि मन्दीमै रहनु हो ।
निकै कम ऋण विस्तार भएपछि बैंकिङ प्रणालीमा पैसा थुप्रिँदै गएको छ । यही कारण बैंकहरूले यस आर्थिक वर्षको पाँच महिना १० दिनमा एक सय १८ खर्ब १३ अर्ब २० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा उपयोग गर्दै राष्ट्र बैंकलाई दिएका छन् । यस्तै यो अवधिमा राष्ट्र बैंकले प्रणालीबाट १५ खर्ब ५९ अर्ब २५ करोड रुपैयाँ निक्षेप सङ्कलन बोलकबोलमार्फत प्रशोचन गरेको छ ।
ब्याजदर निरन्तर घट्दै गएपछि पछिल्लो दुई महिनामा बैैंकमा निक्षेप राख्ने क्रम घटेको तथ्याङ्कमा देखिन्छ । कात्तिक र मंसिरमा प्रणालीमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने बैंकहरूले ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अर्कोतर्फ बैंकहरू निष्क्रिय कर्जा बढ्दै गएपछि कर्जा असुलीमा लागेका छन् । यसको असर पनि अर्थतन्त्रमा परेको छ ।