काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोट बिदुर नगरपालिका–३ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशी रहेका छन् ।
पक्राउमध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख रूपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख १७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं महानगरपालिका–९ बाट र पुन्यवतीलाई काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।