काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलोपटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ ।
सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आईपीओ, एफपीओ, राईट सेयरका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरका लागि समेत आवेदन दिन सक्नेछन् । कारोबार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइममा नै प्राप्त गर्न सक्ने छन् । आईपीओ, एफपीओ, राइट सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सनको रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्धतापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ । ग्राहकलाई अझ सरल र प्रभावकारी सेवा प्रदान गर्न यस व्यवस्थाले ठूलो भूमिका खेल्नेछ र यसले कर्मचारीको कार्य दक्षता र ग्राहक सन्तुष्टिमा महत्वपूर्ण सुधार ल्याउनेछ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।