काठमाडौं । सरकारले एक महिनामा वैदेशिक रोजगारीमा जाने ८४ हजारभन्दा बढी श्रमिकलाई श्रम श्रम स्वीकृति दिएको छ । मंसिर महिनामा ८४ हजार दुई सय ६६ वटा श्रम स्वीकृति दिइएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार मंसिर महिनामा ७५ हजार पाँच सय ५५ जना पुरुष र आठ हजार छ सय ७१ जना महिलाले श्रम स्वीकृति लिएका हुन् । उनीहरूले व्यक्तिगत तथा संस्थागत तवरबाट श्रम स्वीकृति लिएका हुन् ।
मंसिर महिनामा मेनपावर कम्पनीबाट २८ हजार आठ सय ६८ जना, व्यक्तिगत प्रयासबाट १३ हजार ५९ जना, सरकारदेखि सरकारमार्फत नौ सय ७९ जना र बिदामा आएपछि श्रम स्वीकृति लिनेमा ४१ हजार तीन सय २० जना छन् । विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार श्रम स्वीकृति लिनेमध्ये ५० प्रतिशतभन्दा बढी मलेसिया र खाडी मुलुक जानेहरू छन् । बाँकी दक्षिण कोरिया र युरोपेली मुलुक जानका लागि छन् । चैत महिनामा ७७ वटा जिल्लाबाटै श्रम स्वीकृति लिएको उनको भनाइ छ । सबैभन्दा धेरै मधेश र कोशी प्रदेशका नागरिकहरूले श्रम स्वीकृति लिएको छ ।
मलेसियाका लागि चार हजार चार सय ६९ वटा, संयुक्त अरब इमिरेट्सका लागि २४ हजार सात सय ६९ वटा, साउदी अरबियाका लागि १८ हजार एक सय १५ वटा, कतारका लागि १४ हजार आठ सय ४४ वटा, कुवेतका लागि छ हजार छ सय ९० वटा, बहराइनका लागि एक हजार तीन सय ७६ वटा र ओमानका लागि आठ सय ९५ वटा श्रम स्वीकृति वितरण गरिएको छ । त्यस्तै जापानका लागि दुई हजार तीन सय ७१ वटा र दक्षिण कोरियाका लागि एक हजार ८६ वटा श्रम स्वीकृति वितरण गरिएको छ । लामो समयदेखि गन्तव्य मुलुक बनेको मलेसिया र खाडी मुलुक भने असुरक्षित रहेसँगै नेपाली श्रमिकले गन्तवय फेर्दै आएका विभागका अधिकारीहरू बताउँछन् जसले गर्दा उनीहरू दक्षिण कोरिया, जापान र युरोप र अमेरिकामा काम गर्नका लागि श्रम स्वीकृति लिनेगरेका छन् ।
यसका अलवा अफगानस्तिान, बंगलादेश, चीन, अष्ट्रेलिया, क्यनाडा, डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, फिनल्यान्ड, अमेरिका जानका लागि सयौँ जनाले श्रम स्वीकृति लिएका छन् । एसिया, युरोप र अमेरिका मात्र नभई अफ्रिकी मुलुक दक्षिण अफ्रिका, मौरिसस, घाना, नाइजेरियालागयतका मुलुक जानका लागि श्रम स्वीकृति लिएको देखिन्छ । यद्यपि अफ्रिकी मुलुक जान भने ज्यादै न्यून संख्यामा श्रम स्वीकृति लिएका छन् । जस्तो चैतमा नाइजेरिया जानका लागि तीन जना, केनिया जानका लागि पाँच जना, कम्बोडिया जानका लागि दुई जना र कोमोरोस जानका लागि ११ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम तथा श्रम स्वीकृतिलाई लिएर सरकारको कमजोर कूटनीति तथा नीतिहरूले गर्दा श्रमिकहरू आफैँ गन्तव्य परिवर्तन गर्न थाल्दा धेरै मुलुकहरूमा नेपाली श्रमिक काम गर्नका लागि पुगेका विभागका अधिकारीहरू बताउँछन् ।
यसैबीच श्रम स्वीकृति लिनेको संख्या भने दिनानुदिन बढ्दै गएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा तीन लाख १७ हजार नौ सय नौ जनाले श्रम स्वीकृति लिएका छन् । साउनमा ५५ हजार पाँच सय ७५ जनाले श्रम स्वीकृति लिँदा भदौमा ५० हजार आठ सय ८४ जना, असोजमा ५६ हजार दुई सय ३४ जना र कात्तिकमा ७० हजार नौ सय ९० जनाले श्रम स्वीकृति लिएका छन् । मासिकरूपमा हेर्दा श्रम स्वीकृति लिनेको संख्यामा थपघट भए पनि समग्रमा भने श्रम स्वीकृति लिनेको संख्या भने बढेको सूचना अधिकारी सुवेदीको भनाइ छ ।