काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विदेशिएका जनशक्तिलाई स्वदेश कसरी फर्काउने भन्ने विषय चुनौतीपूर्ण रहेको बताएका छन् । मन्त्रालयको आयोजनामा बिहीबारदेखि राजधानीमा सुरु भएको नेपाल स्वास्थ्य सम्मेलनमा मन्त्री पौडेलले विदेशिएका स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेश फिर्ता गराउने विषय चुनौतीपूर्ण भए पनि सरकारले दक्ष जनशक्ति फर्काउन पहल गर्ने बताए ।
विदेशिएका दक्ष जनशक्तिलाई स्वदेश फर्काउन सम्मेलन पनि प्रभावकारी हुने उनले बताए । ‘उत्पादन भएका जनशक्तिलाई कसरी टिकाउन सकिन्छ भन्ने चुनौती छँदैछ, त्यसमाथि विदेशिएका जनशक्तिको दक्षता र अनुभवलाई कसरी उपयोग गर्ने र जोड्ने भन्ने चुनौती छ’, उनले भने ‘यो सम्मेलनमार्फत यसको विकल्प र योजनाका बारेमा छलफल भई निष्कर्ष निस्कन्छ भन्ने विश्वास छ ।’ मन्त्री पौडेलले मुलुकभित्र र बाहिर रहेका नेपालीहरूको साझा उद्देश्य देश बनाउनु रहेकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । ‘विदेशमा रहेर पनि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउनेसँग समन्वय अभावमा समस्या कहाँ छ ? फर्किएर नेपाल आउन के समस्या छ ? उहाँहरूको दक्षतालाई प्रयोग गर्न किन समस्या भयो ? यी विविध समस्याको पहिचान सम्मेलनले गर्ने आशा छ’, उनले भने ।
सम्मेलनमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने बताए । आधुनिक प्रविधिको प्रयोगले स्वास्थ्यलाई प्रभावकारी बनाउन मद्दत मिल्ने उनको भनाइ थियो । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएका उल्लेख गरेका थिए । साथै, उनले विश्वभर छरिएर रहेका स्वास्थ्यकर्मीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउन एकजुट हुनुपर्नेमा जोड दिए ।