नवलपुर (नवलपरासी) । प्रेस चौतारी नेपाल चितवनले शुक्रबार बिहान नवलपुरको गैँडाकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । उनले प्रमुख दलहरू मिलेर समृद्धिको सपना पूरा गर्न अगाडि बढेको हुँदा यसमा सबैको सकारात्मक सहयोग हुनुपर्ने बताए ।
महासचिव पोखरेलले सरकारले कानुनमा सुधार र सहकार्यका लागि सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले आवश्यकताअनुसार कानुन निर्माण र संशोधन गरेर नयाँ प्रविधिहरू र परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने अवस्था आएको बताए । कानुनी जटिलताले विकास निर्माणका काममा बाधा परेको उल्लेख गर्दै महासचिव पोखरेलले अहिलेको समयमा कानुन नबन्दा उत्पन्न समस्याबाट हामी गुज्रिएको बताए ।
महासचिव पोखरेलले वर्तमान सरकारले हाल देखिएका समस्या समाधानका लागि संविधान र ऐन कानुन सुधार प्रक्रियालालाई अगाडि बढाइरहेको बताए । हाल पुरानै सरकारले बनाएको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गरिरहनुपरेकाले आफूहरूले सोचेजति प्रभावकारी कार्यसम्पादन हुन नसकेको भन्दै महासचिव पोखरेलले चुनौतीका बाबजुत अवस्था सुधारको प्रक्रियामा सरकार अगाडि बढेको बताए ।