देउखुरी (दाङ) । चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई दाङको घोराही उपमहानगरपालिकाले छात्रवृत्ति दिने भएको छ । नगरप्रमुख नरुलाल चौधरीले घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु. तीन लाख र रु. पाँच लाख छात्रवृत्ति दिने बताए ।
छात्रवृत्तिबापत इञ्जिनियर पढ्नेलाई एकमुष्ट तीन लाख र डाक्टर पढ्नेलाई एकमुष्ट पाँच लाख प्रदान गर्नेबारे उपमहानगर सार्वजनिक सूचनामार्फत सबैलाई सूचित गरिएको छ । त्यस्ता विद्यार्थीले पुस ८ देखि माघ ८ गतेसम्म सामाजिक विकास महाशाखामा प्रमाण पुग्ने कागजसहित निवेदन दिनुपर्नेछ । यो सुविधा पाउने विद्यार्थीले एसइई तथा प्लस टू सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रमाणसहितका अन्य तोकिएका मापदण्ड पूरा गर्नुपर्ने जनाइएको छ ।