काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पीएल सिंहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिबार सिंहको १३ ओैँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पीएल सिंहले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा पुर्याएको योगदानको स्मरण गरे ।
उपप्रधानमन्त्री सिंहले पीएल सिंहले प्रजातान्त्रिक आन्दोलनसँगै असहज बेलामा आफ्नो परिवारको समेत ख्याल गरेको बताए । ‘०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनका बेलामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । सिद्धान्त र आदर्शको राजनीति गर्ने परिवारमा कष्टको त साध्य नहुने । त्यस्तो समयमा उहाँले हाम्रो अभिभावक बन्नुभयो’, उनले पीएल सिंहलाई सम्झँदै भने, ‘उहाँ सरल र सहज स्वभावको, सबैले स्वीकार गर्ने र सबैसँग भिज्न सक्ने । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखर र पीबी नरसिंह रावसमेत उहाँसँग प्रभावित हुनुले उहाँको क्षमता बुझ्न सकिन्छ ।’
पीएल सिंह गणेशमान सिंहसँग मात्र नभई सन्त नेता कृष्णप्रसाद भट्टराईको पनि प्रिय रहेको सिंहले स्मरण गरे । पीएल सिंह आफूलाई प्राप्त भूमिकालाई गम्भीरताका साथ निभाउने नेता भएको पनि उनले बताए । त्यस्तै, काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएपछि पीएलले आफ्नै कार्यकालमा काठमाडौंलाई महागनगर बनाएको र काठमाडौंको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाएर आधुनिक काठमाडौं बनाउन नेतृत्वदायी भूमिका खेलेको सन्दर्भ पनि सिंहले चर्चा गरे । कांग्रेस काठमाडौं सभापति सबुज बानियाँको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्ण सिटौला, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कांग्रेस नेता भीमसेनदास प्रधान, राजन केसीलगायत काठमाडौं जिल्ला समिति, महानगरसमितिका सभापति निलकाजी शाक्य, नेतृ सिर्जना सिंह, कांग्रेस काठमाडौं जिल्ला समिति, महानगर समितिका पदाधिकारी, सदस्य तथा भातृ संघसंस्थाका नेता कार्यकर्ता सहभागी थिए ।