काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयको शनिबार दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई व्यावहारिकरूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्न आग्रह गरेका हुन् । उपाधि प्राप्त भएपछि अध्ययन पूरा नहुने तर्क गर्दै उनले प्राप्त ज्ञानलाई व्यावहारिक जीवनमा उतारेर परिस्कृत गर्न आग्रह गरे । ‘आफैँसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यावहारिकरूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ’, उनले भने ।
सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरूपमा बाँच्न पाउने अवस्था सिर्जनाका लागि प्राप्त ज्ञान प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि उनले आग्रह गरे । ‘मुलुकमा विद्यमान २० प्रतिशतको निरपेक्ष गरिबी अन्त्य गर्ने अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ’, उनले भने । प्रधानमन्त्री ओलीले हाम्रो मुलुक ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरूबाट सिक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा अर्थशास्त्री डा रामप्रकाश यादवले विद्यार्थी जीवनको संघर्ष र इमानदारीले लक्ष्यप्राप्तिमा जोकोहीलाई सफलता हासिल हुने बताए । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालय मातहतका क्याम्पसहरू गाभ्ने नीति लिइएको जानकारी दिए ।
दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका थिए । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीले समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पीएचडी)का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत समेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन संकायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ । यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ ।
नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाएकी छन् । शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागकी चेतना कुँवर पुरस्कृत भइन् ।
तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाइन् । काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा हुन् । यस्तै, शिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरिन् ।