काठमाडौं । भृकुटीमण्डपमा च्याउ मेला हुने भएको छ । राष्ट्रिय च्याउ दिवसको अवसरमा सोमबार च्याउ मेला हुन लागेको हो । च्याउ उत्पादक किसान संघ, नेपालले शनिबार पत्रकार सम्मेलन गरी भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
संघका अध्यक्ष सन्तोष कार्कीले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा कक्षमा च्याउसँग सम्बन्धित विभिन्न प्रदर्शनी गरिने जानकारी दिए । मेलामा च्याउका परिकार समेत प्रदर्शनी गरिनेछ । मेलामा प्रवेश निःशुल्क रहेको मेलामा च्याउका परिकार समेत निःशुल्क चाख्न पाइने आयोजकले जनाएको छ । साथै, मेलामा गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि रहेको छ । भिन्नभिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुको प्रदर्शनी, राष्ट्रिय कलाकारको उपस्थितिमा विशेष सांस्कृतिक प्रदर्शनलगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले बताए ।
मेला आयोजनाका लागि करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने करिब १५ हजारले मेलामा अवलोकन गर्ने अनुमान गरिएको छ । नेपालमा हाल करिब ३५ हजार किसान च्याउखेतीमा आबद्ध रहेका समेत संघले जानकारी दिएको छ । नेपालभर विभिन्न जातको च्याउ उत्पादन र यसको कारोबार करिब १५ अर्ब रुपैयाँ तथा च्याउको बीउ उत्पादन गर्ने ल्याबको संख्या ६७ रहेको अध्यक्ष कार्कीले जानकारी दिए । संघका अनुसार नेपालका ७० जिल्लामा च्याउखेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन हुने गरेको छ ।
च्याउ उत्पादक किसान संघ नेपालले २०७६ पुस ९ गतेदेखि पुस २९ गतेसम्म मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो । पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा यसै महिनाको कुनै एक दिनलाई च्याउ दिवसका रूपमा घोषणा गराउन संघ र च्याउ उत्पादक किसानले दबाब दिँदै आएका छन् । विसं २०७६ पुस १५ गते बागमती प्रदेशको राजधानी हेटौँडामा सञ्चालन भएको मेची महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ यसैका लागि भएको संघले जनाएको छ । सोही दिन च्याउ संघ र किसानको अनुरोधलाई स्वीकार गर्दै बागमती प्रदेश सरकारले प्रदेशस्तरमा च्याउ दिवसको विधिवत् घोषणा गरेको संघले जनाएको छ ।