काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।
बैंक पौष १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा छ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्न वर्गका ३५ जना जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
यी छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । यस कार्यक्रमअन्तर्गत बैैंकले प्रत्येक प्रदेशबाट पाँच जना जेहेन्दार छात्राहरू छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रूपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ ।
यो कार्यक्रमअन्तर्गत बैंकले अहिलेसम्म एक सय ४० जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राहरूको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ । समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरू आर्थिकरूपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
यस कार्यक्रमबाट आर्थिक समस्याका कारणबीचमै विद्यालय छाड्न बाध्य छात्राहरूलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजोपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८४ एटीएम, दुई सय ३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।