काठमाडौं । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)द्वारा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जिक्सन’ अवार्डबाट सम्मानित भएको छ ।
एनसिएचएलको को १६औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरूमध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् । बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेसन र नवीनतम प्रविधिमार्फत नेपालको डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिँदै आएको छ ।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्वाइस अडियो बक्स क्युआर सेवा सुचारु गरी क्युआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ । यसैगरी डिजिटल बैंकिङ र नगदरहित कारोबार प्रवर्द्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ । मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथ ड्र सेवा, चेकविना नै काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान एन्ड विथ ड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडियो केवाईसी सुविधालगायत थुप्रै आधुनिक बैंकिङ सेवाहरू बैंकले उपलब्ध गराएको छ । यसका साथै देशभरिका व्यवसायीलाई निःशुल्क क्युआर कोड सेवा प्रदान गर्दै बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्दै डिजिटल बैंकिङको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ । अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिँदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिबद्ध छ ।
डिजिटल बैंकिङको प्रयोग बढेसँगै बैंकले सोही प्रक्रियामा आवश्यक पर्ने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य विवरण सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगीविरुद्ध सचेत हुन जोड दिएको छ । संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ ।
आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवनरक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५१ वटा न्यानो नानीमार्फत हरेक वर्ष १८८७ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको वीजारोपण गरेको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।