सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उनका समर्थक र विरोधीले शनिबार देशव्यापी विरोध प्रदर्शन गरेका छन् । गत डिसेम्बरको सुरुमा सैनिक शासन लागू गर्न खोजेपछि युनमाथि संसद्ले महाअभियोग लगाई हटाएको थियो । त्यसको दुई सातापछि शनिबार युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौँ यताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ ।
युनको महाभियोग प्रक्रिया पूरा गर्न र उनलाई न्यायको कठघरामा ल्याउन माग गर्न अस्वीकार गरेपछि सांसदहरूले शुक्रबार युनको स्थानमा कार्यवाहक राष्ट्रपति बनेका हान डक–सोमाथि पनि महाभियोग लगाएका थिए । युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो तर दुवै खेमाका प्रदर्शनकारीले यसबीचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
‘राष्ट्रपति युनको रक्षाका लागि करिब २० लाख मानिस एकजुट हुनेछन्’, सियोलमा आयोजित र्याली आयोजकमध्येका एक युनका समर्थक री काङ सानले बताएका छन् । उनले भने, ‘महाभियोगविरुद्ध जनताको आवाजलाई अझ सशक्त बनाउने हाम्रो प्रयासलाई र्यालीले निरन्तरता दिएको छ।’
युनको विरोधमा निकालिएको अर्को पक्षको र्यालीका महाभियोगलाई समर्थन गर्नेहरुको आक्रोश ‘झनै चर्को रुपमा जलिरहेको’ देखिन्छ । सो र्यालीका सहभागीले ‘अब युनलाई तत्काल बर्खास्त गर्न र सजायको माग गरिरहेका’ छन् ।
विपक्षी र हानबीच उनले संवैधानिक अदालतमा रिक्त रहेका तीन थप न्यायाधीशहरू नियुक्त गर्न इन्कार गरेपछि द्वन्द्व बढेको र पछि यसैको सिलसिलामा उनले कोही ‘सैन्य कानुन’ कार्यान्वयन गर्ने घोषणापछि विपक्षी निलम्बित राष्ट्रपति र उनका मन्त्रीहरूप्रति आक्रोशित बनेका छन् ।
युनलाई महाभियोग लगाउने संसद्को निर्णयलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा अहिलेका छ जना न्यायाधीशले निर्णय गर्नसक्ने भए पनि असहमति जनाउने मतले उनलाई पुनर्बहाली गर्नेछ ।
विपक्षीहरूले हानले नौ सदस्यीय बेन्च भर्नका लागि थप तीन जना मनोनीत व्यक्तिहरूलाई अनुमोदन गरोस् भन्ने चाहन्थे, जुन उनले गर्न अस्वीकार गरेका थिए । यसले गर्दा दुवै पक्ष गतिरोधमा परेका थिए ।
दोस्रो महाभियोगले अर्थमन्त्री चोइ साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामा नियुक्त गरेको छ । यसले देशलाई अनिश्चितताको सिकार बनाएको छ । इन्चोन नेसनल युनिभर्सिटीका प्राध्यापक ली जुन हानले भने, ‘हामीले यसअघि पनि कार्यवाहक राष्ट्रपति बनाएका थियौँ तर हामीले विकल्पको विकल्प खोज्दै एकपछि अर्को महाभियोग प्रस्तावमाथि छलफल र मतदान गरेको यो पहिलो पटक हो ।’
चोईले महाभियोगपछि जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस घडीमा सरकारी उथलपुथल कम गर्नु सबैभन्दा महत्वपूर्ण छ, सरकारले पनि आफ्नो सम्पूर्ण प्रयासलाई उथलपुथलको यस कालखण्डबाट पार पाउनका लागि समर्पित गर्नेछ ।’
हानजस्तै चोइले पनि नयाँ न्यायाधीशको नियुक्ति स्वीकार गर्न विपक्षीको दबाबको सामना गर्नुपर्नेछ । यदि उनले अस्वीकार गरेमा उनले पनि महाभियोगको सामना गर्नु पर्ने अवस्था आउनसक्छ । रासस/एएफपी