दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाको प्रशासनिक केन्द्र जोड्ने नाम्दु–पाँडुडाँडा पक्की सडक निर्माण सम्पन्न भएको छ । लामुसाँघु जिरीसडक खण्डअन्तर्गतको नाम्दुबाट पालिकाको प्रशासनिक भवन रहेको पाँडुडाँडा जोड्ने तीन किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिएको छ ।
गाउँपालिकाको केन्द्र तोकिएपछि विस्तार गरिएको यस सडकखण्ड कालोपत्रे तथा ढलान गरिएसँगै गाउँपालिका ओहोरदोहोर गर्न सहज भएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए । पालिकाले प्रत्येक वर्ष एक किलोमिटरको दरले कालोपत्रे तथा ढलान गर्न स्रोत जुटाएर ठेक्का तथा उपभोक्ता समितिमार्फत सो सडक निर्माण गरेको हो । गाउँपालिकाले नाम्दुदेखि पिपलबोट चौतारासम्म कालोपत्रे गरेको छ भने पिपलबोट चौतारादेखि पालिकाको कार्यालय गेटसम्म ढलान गरेको छ । पालिकालका प्राविधिक शाखा प्रमुख इन्जिनियर विश्वास घिमिरेले सो सडकमा चार मिटर चौडाइ तथा २० सेन्टिमिटर मोटो रड बिछ्याएर आरसीसी ढलान गरिएको जानकारी दिए ।
गाउँपालिकाले चालू वर्ष नाम्दु–पाँडुडाँडा सडकको ढलान सक्न एक करोड १० लाख बजेट विनियोजन गरेको थियो । त्यसैगरी गाउँपालिकाले यस आवमै वुस्ती–फुतलीकाठ–मिर्गे सडक र गोपी–गैरीमुदि जोरमाने सडक ढलान गर्न ठेक्का लगाएको छ । गत वर्षजस्तै यस वर्ष पनि उक्त दुई वटा सडक ढलान गर्न चार करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो सडक निर्माणका लागि ठेक्का समेत लागिसकेको छ ।
गाउँपालिकाको प्राविधिक तथ्याङ्कअनुसार हालसम्म पछिल्लो आठ वर्षमा २० किलोमिटर पक्की सडक निर्माण सम्पन्न भएको छ । यस वर्ष थप पाँच किलोमिटर सडक ढलान तथा कालोपत्रे गर्ने गाउँपालिकाले योजना बनाएको छ । ग्रामीण सडकसँगै २५ किलोमिटर पक्की गोरेटो बाटो निर्माण भएको गाउँपालिकाले जनाएको छ ।