काठमाडौं । पछिल्लो समय बढ्दै गइरहेको जलवायु परिवर्तनको असरले श्रम क्षेत्रमा पनि समस्या बढाएको सरोकारवालाहरूले बताएका छन् । क्लास नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘श्रमिकमा जलवायु परिवर्तनको प्रभावमा बहुपक्षीय संवाद’मा सहभागीहरूले जलवायु परिवर्तनले देखिएका श्रम समस्या समाधानका बहस आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिवसमेत रहेका रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले जलवायुजन्य जोखिमबाट श्रमिकलाई बढी समस्या उत्पन्न हुने भएकाले यसको समाधान तत्काल गर्नुपर्ने बताए । ‘कुनै विपद् आयो भने सबैभन्दा बढी श्रमिकलाई असर गर्छ, जलवायु परिवर्तनले हिमालको हिउँ पग्लदै छ । पर्यटन व्यवसाय धरापमा परी त्यहाँ काम गर्ने श्रमिकको रोजिरोटी खोसिन सक्छ’, उनले भने, ‘कृषिमा पनि त्यस्तै असर परिरहेको छ । कृषि उत्पादन कम हुँदा कृषिमा काम गर्ने श्रमिकलाई असर गर्छ ।’ पुडासैनीले जलवायु परिवर्तनको असरले तापक्रममा वृद्धि भई बाहिरी वातावरणमा काम गर्न नसक्ने अवस्था सिर्जना हुनसक्ने भन्दै दैनिक ज्वाला गरेर गुजारा टार्ने श्रमिक मारमा पर्ने बताए । ‘जलवायुजन्य जोखिम दिनानुदिन बढिरहेको छ, श्रमिकहरूले काम गर्दा सुरक्षाको नयाँ उपायहरू अपनाउन आवश्यक छ’, उनले भने, ‘निर्माणाधीन नयाँ पूर्वाधारहरू जलवायुमैत्री हुन आवश्यक छ ।’
श्रम, रोजगार, तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले बढ्दो जलवायु परिवर्तनको जोखिमबाट अनुकूलित हुन श्रमिकको स्वास्थ्य र सुरक्षामा ख्याल गर्दै नीति तथा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए । ‘जलवायु अनुकूलनलाई प्राथमिकता दिँदै काम गर्ने उचित समय पनि हेरिनुपर्छ, दिउँसो बढी गर्मी भएमा बिहानको समयमा श्रमिकलाई काममा लगाउन सकिन्छ’, उनले भने, ‘जलवायुजन्य जोखिमले श्रम क्षेत्रमा देखा पारेको असर न्यूनीकरणमा सबैले समन्वय गर्नु आवश्यक छ ।’ नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनको मुख्य असर महिला श्रमिकलाई परेको भन्दै असर न्यूनीकरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।