सिरहा । सिरहाको मुख्य बजार लहानमा व्यावसायिक रुपमा सञ्चालित अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको छ । जभाभावी अव्यवस्थित ढङ्गले साँघुरो सडकमा अटो रिक्सा चलाउँदा सवारी दुर्घटनाको जोखिम पनि बढेको छ ।
जिल्ला ट्राफिक कार्यालय सिरहा, लहानका प्रमुख प्रहरी निरीक्षक पोषणराज थपलियाले भित्री सडकमा चलाउनुपर्ने अटो रिक्सा बजार क्षेत्रमा केन्द्रित हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेकोे बताए । उेनले भने,“अटो चलाउने अधिकांश चालकमा ट्राफिक नियमप्रति सचेतनाको कमि भएकाले ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । भित्री सडकमा चलाउनुपर्ने भए पनि अटो रिक्सा बजार क्षेत्रमा र मुख्यत पूर्व—पश्चिम राजमार्गमै केन्द्रित भइदिँदा समस्या भयो ।”
अटो रिक्सालाई नियमन गर्नको लागि कार्यविधि नभएकाले यसमा स्थानीय तह र यातायात कार्यालयले ध्यान दिनुपर्ने प्रमुख थपलियाले बताए । सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालकोे अव्यवस्थित रुपमा सञ्चानल गरिएका अटो रिक्सालाई कानुनको दायरामा ल्याई नियमन गर्नुपर्ने भनाइ छ ।
“सिरहाको सदरमुकाल, लहान, गोलबजार, मिर्चैयालगायतका बजार क्षेत्रमा वास्तविक क्षमता भन्दा बढी सङ्ख्यामा अटो रिक्सा सञ्चालित छन् । दुर्घटनाको स्थिति हेर्दा काहलीलाग्दो छ”, प्रमुख जिल्ला अधिकारी दाहालले भने,“अटो रिक्साको नियमन र बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला नजुट्ने हो भने स्थिति भयावह हुनसक्छ ।”
ट्रेड युनियन महासङ्घ सिरहाका अध्यक्ष सञ्जीव उप्रेतिका अनुसार सिरहाको लहानमा मात्रै करिब तीन हजारको संख्यामा अटो रिक्सा सञ्चालित छन् । जुन सडकको क्षमता भन्दा तीन दोब्बरले बढी हो । पछिल्लो समय सिरहामा अटो रिक्सा ठूलो सङ्ख्यामा भित्रिरहेका छन् । सम्बन्धित पक्षले चासो नदेखाउँदा अस्तव्यस्त रुपमा जभाभावी चल्ने अटोका कारण दुर्घटनाको जोखिम बढ्दै गएको उप्रेतिको भनाइ छ ।
इलाका प्रहरी कार्यलय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले चाहिनेभन्दा बढी भएपछि रिक्साले बजारनै ढाकेका कारण ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको बताए । उनले भने,“सरकारी नीति र प्रष्ट निर्देशिका बन्न नसक्दा यो सवारीसाधन सबैको टाउको दुखाइ बनेको छ ।”
रिक्सा चालकलाई लाईसन्सको व्यवस्था नभएको हुँदा यातायात कार्यालयले निश्चित मापदण्ड बनाएर रिक्सा चालकलाई लाइसेन्सको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।
बिना दर्ता र अव्यवस्थित रूपमा लहान क्षेत्रमा सञ्चालन हुँदै आएका अटो ट्याम्पो तथा ई–रिक्सालाई व्यवस्थापन र नियमन गर्न नगरपालिकाले कार्यविधि तयार पारि लागू गर्ने प्रक्रियामा रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए । उनले रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने विश्वास व्यक्त गरे ।