लन्डन, असार ३१
बेलायती मोबाइल सेवाप्रदायक कम्पनीहरुलाई हुवावेसँग नयाँ फाइभजी सामग्री किन्न प्रतिबन्ध लगाइएको छ । बीबीसीका अनुसार ३१ डिसेम्बरदेखि ती सामग्री किन्न नपाइनुका साथै सन् २०२७ सम्ममा कम्पनीहरुले चिनियाँ कम्पनीको फाइभजी किट आफ्नो नेटवर्कबाट हटाउनुपर्ने भएको छ ।
डिजिटल सेक्रेटरी ओलिभर डाउडेनले यसबारे हाउस अफ कमन्समा अवगत गराएकी हुन् । अमेरिकाले हुवावेमाथि लगाएको प्रतिबन्धलाई बेलायतले सदर गरेको हो । अमेरिकाले हुवावेका फाइभजी प्रविधिजन्य सामग्रीहरु राष्ट्रिय सुरक्षा प्रतिकूल भएको भन्दै कालोसूचीमा राखेको छ । यद्यपि हुवावेले अमेरिकी आरोप कपोलकल्पित भन्दै पुष्टिविनाको निराधार आरोप भन्दै प्रतिवाद गर्दै आएको छ ।
पछिल्लो कदमले बेलायतको फाइभजी प्रविधिमा जाने चाहना एक वर्षपछि धकेलिने डाउडेनको भनाइ छ । बेलायतमा फाइभजीमा जान २ अर्ब पाउन्ड खर्च हुने अनुमान छ । अमेरिकी प्रतिबन्धले भविष्यमा आउने सामग्री किन्न रोक लाग्छ । हुवावेले भने यो निर्णयलाई खराब समाचार भनेको छ । यसले बेलायतलाई डिजिटाइजेसनमा सुस्त बनाउने उसको टिप्पणी छ ।
बेलायतले गत जनवरीमा हुवावेको टेलिकम पूर्वाधारमा कस्तो भूमिका हुन्छ भनेर पुनर्विचार गरेको थियो । त्यसपछि उसले कम्पनीलाई आपूर्तिकर्ताको रुपमा मानेको थियो । तर मेमा अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगायो । अमेरिकी सुरक्षा अधिकारीले हुवावेका उत्पादनमा विश्वस्त हुन नसकेपछि राष्ट्रिय सुरक्षामा गम्भीर असर पुग्ने दाबी गर्दै प्रतिबन्ध लगाएका हुन् ।