काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रमहरू सञ्चालन गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरू समेत सञ्चालन गरेको जनाएको छ ।
कम्पनीका अनुसार टेलिकमले काठमाडौंको माइतीघरदेखि तीनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो । यसअन्तर्गत मौसमी फूलका बिरुवाहरू रोप्ने, रुखहरू तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्नेलगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरू सञ्चालन गरिएका थिए । यस्तै, टेलिकमले विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण गरेको छ । टेलिकमले नेपालभरिका सरकारी तथा सामुदायिक विद्यालयहरूमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुटलगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको हो ।
साथै, देशभरका २० जिल्लाका १÷१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्रीहरू उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यस्तै, टेलिकमले देशभरका विभिन्न एक सय वटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट एक वर्षसम्मका लागि निःशुल्क उपलब्ध गराएको छ । त्यसैगरी एफटीटीएच सेवा नपुगेका सात वटै प्रदेशका विभिन्न ५० वटा सरकारी तथा सामुदायिक विद्यालयहरूमा एक वर्षसम्मका लागि नमस्ते वाईफाई राउटरसहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ ।
टेलिकमले आउँदै गरेको एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट निःशुल्करूपमा पढ्न पाउने व्यवस्था समेत मिलाएको जनाइएको छ । साथै, कम्पनीले धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैँचालगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरूमा आवश्यकताबमोजिम डस्टबिन वितरण गरेको छ । सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरूलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरूमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको कम्पनीले जनाएको छ ।
यसैगरी टेलिकमले वीर अस्पताललगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा बेड कम चेयर उपलब्ध गराएको छ । यसका साथै कम्पनीले फरक क्षमता भएका व्यक्तिहरूलाई छुट्टै प्याकेजसहितको निःशुल्क प्रिपेड सिमकार्ड वितरण गरेको छ । विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा निःशुल्क कलर रिङटोनको प्रसारण कार्य, गणतन्त्र दिवस, संविधान दिवसलगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारीमूलक सन्देशहरू निःशुल्क प्रवाहलगायतका कार्य समेत गरिएको कम्पनीले जनाएको छ ।
गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि कम्पनीले ब्ल्याङ्केट, टेन्टलगायतका राहत सामग्री समेत उपलब्ध गराएको थियो । यस्तै, गत असोजको पहिरो तथा डुबान पीडितहरूलाई राहत वितरण कार्यमा सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग प्रदान गरेको कम्पनीले जनाएको छ ।