काठमाडौं । ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लु राइड्समार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूलाई आधारभूत रोड मार्सल तालिम प्रदान गरेको छ ।
कम्पनीका अनुसार यो तालिम यामाहा ब्लु स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्वपूर्ण कदमको रूपमा रहेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो । सत्रले यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गरेको थियो ।
कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलकंी), भक्तपुर, सिन्धुली, पोखरालगायतका क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरहरूको सहभागिता रहेको थियो । अन्तरक्रियात्मक मोड्युलहरू र वास्तविकतामा आधारित परिदृश्यमार्फत् यामाहा राइड–आउट कार्यक्रमहरू र सामुदायिक सवारी दुवै सहज र दुर्घटनारहित बनाउनका लागि यी लिडरहरूलाई रोड मार्सलको भूमिका निर्वाह गर्न सशक्त बनाउने प्रशिक्षणको उद्देश्य रहेको थियो । यो प्रशिक्षण सत्रमार्फत् ब्लु स्ट्रिक्स कार्यक्रमका लागि यामाहाको फराकिलो दृष्टिकोण पनि प्रतिबिम्बित भएको कम्पनीको दाबी छ । रोड मार्सल तालिममा लगानी गरेर यामाहाले आफ्ना लिडरहरू ब्रान्डका एम्बेसडर मात्र नभई सडक सुरक्षा र जिम्मेवार सवारीको पैरवीकर्ता पनि हुन् भन्ने कुरा पुष्टि गरेको जनाइएको छ ।
ब्लु स्ट्रिक्स यामाहा नेपालअन्तर्गतको एक राइडर कम्युनिटी पहल हो, यसको उद्देश्य यामाहा मालिकहरूबीच सार्थक सम्बन्ध सिर्जना गर्ने हो । कार्यक्रमले सवारीचालक सुरक्षा, सामुदायिक संलग्नता र नेतृत्व विकासमा जोड दिन्छ भने उत्साहीहरूलाई क्षेत्रीय च्याप्टरहरूको नेतृत्व गर्न र यामाहाको सद्भाव र साहसिक भावनालाई पनि बढावा दिन्छ ।