काठमाडौं । त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग माओवादी नेताहरूको निकट सम्बन्ध दर्शाउने कतिपय तस्बिर सार्वजनिक भएपछि त्यसमा उनीहरूको भूमिका निकै रहस्यमयी भएको चर्चा त्यसबेला निकै चलेको थियो ।माओवादी नेताहरूको सुन काण्डमा शंकास्पद भूमिका रहेको चर्चा चलिरहेको बेला सुन तस्करी प्रकरणका अभियुक्तसँगको सार्वजनिक तस्बिरले थप संशय उत्पन्न गराएको मुख्य अभियुक्त तिनै तिब्बती मूलका बेल्जियन नागरिक छिरिङकी पत्नी अमला रोका बेपत्ता छिन् ।
सुन काण्डमा पक्राउ परेका दावासँग बिहे गरेकी रोल्पाको थवाङ गाउँपालिका ७ मरन्ठानाकी अमला रोकालाई बेपत्ता बनाइएपछि माओवादी नेताहरूको सुन तस्करसँगको सम्बन्ध थप रहस्यमयी बनेको छ ।अमला रोकाको बिहेका कारण दावा छिरिङसँग माओवादी उपमहासचिव वर्षमान पुन दम्पतीको निकटता बढेको बताइए पनि उनको विवाह नै माओवादीका यिनै नेताहरूकै योजनामा भएको बुझिएको छ ।माओवादी नेता वर्षमान पुन र उनकी पत्नी ओनसरी घर्ती र भाइ प्रनिशलगायतसँग निकट सम्बन्धमा रहेकी अमलाको रोल्पाकै पूर्वमाओवादी नेता एवं पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङसँग समेत पारिवारिक सम्बन्ध रहेको देखिएको छ । यी दुवैको योजनामा अमलाको बिहे दावासँग गराइएको उनको पारिवारिक स्रोत बताउँछ ।
उनले हरेक चाडपर्व पूर्वउपराष्ट्रपति पुन र माओवादी नेता वर्षमानको परिवारसँग विगतदेखि मनाउँदै आएको र नितान्त पारिवारिक सम्बन्ध रहँदै आएको बताइन्छ ।पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनले नै रोकामार्फत उनका श्रीमान् दावा छिरिङसँग अन्य माओवादी नेताहरूको सम्बन्ध जोडिदिएको जानकारहरू बताउँछन् । पोखराको सूयदर्शन सहकारीको रकम अपचलनको आरोपी रहेका पूर्वउपराष्ट्रपति पासाङ पुत्र दिपेश अहिले फरार छन् । त्यसअघि उनलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा सीआईबीले बयान समेत लिएको थियो ।पूर्वउपराष्ट्रपति पासङका अर्का जेठा छोरा जितेन्द्रले पनि बुबा उपराष्ट्रपति हुँदा आफू सचिवालय सदस्य रहेको परिचय पत्र देखाएर चिनियाँ व्यापारीसँग सुन ल्याई पैसा नदिएको भिडियो सार्वजनिक भएको थियो । अहिले जितेन्द्र पनि फरार छन् ।पक्राउ परेका तिब्बती मूलका नागरिक दावासँग बिहेको तारतम्य समेत यिनै माओवादी नेता र उनीहरूका सन्तानले मिलाइएको बताइए पनि उनको बिहेलाई कतिपयले नाटकीय प्रपञ्च भएको समेत बताउँछन् । उनको बिहेको हालसम्मै आधिकारिकता पुष्टि हुने कुनै आधार नभएको स्रोतको दाबी छ ।अवैध कारोबारमा साझेदारी गर्न र विदेशी लगानी नेपालमा आफ्नो नाममा भित्र्याउन बिहेको नाटक गरिएको स्रोत बताउँछ । वर्षमान पुन दम्पती र उनका भाइ प्रनिशकै कारणले सुन तस्करीका अभियुक्त बेल्जियन नागरिकसँग बिहे गरेकी अमला रोकाले यसअघि जडीबुटी व्यापार गर्ने गर्दथिन् । उनको पहिलो बिहे रोल्पा थवाङकै एक स्थानीयसँग भएको थियो ।उनका श्रीमान्को गाउँमै युवाहरूको आपसी झडपमा निधन भएको रोल्पाका माओवादी नेताहरू बताउँछन् । माओवादी निकट रोल्पा काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष समेत रहेकी रोकाको पहिलेको श्रीमानबाट एक छोरीसमेत छिन् ।
यता माओवादी नेता वर्षमान पुनले सहिद परिवारको नाताले रोका र उनका श्रीमान्सँग भेटेको भन्दै आफ्नो बचाउमा उत्रिएका थिए । रोल्पाका माओवादी नेताहरूले उनको श्रीमान् माओवादी जनयुद्धमा निधन नभएर गाउँमै युवाहरूको आपसी झडपमा परी निधन भएकोमा सहिद परिवारको सदस्य भनिएकोमा आश्चर्य प्रकट गर्ने गर्दछन् ।नाम उल्लेख नगर्ने सर्तमा रोल्पाका एक माओवादी नेताले भने, ‘हामीले कहिल्यै उनको श्रीमान् जनयुद्धमा सामेल भएको थाहा पाए नै । जनयुद्ध सुरु हुनुअगावै उनको युवाहरूको आपसी झडपमा निधन भएको हो । अहिले सहिद परिवारको सूचीमा राखिएको भए त थाहा भएन ।’तर, माओवादी उपमहासचिव समेत रहेका प्रभावशाली नेता पुनले सहिद परिवारको सदस्यको हैसियतले भेटघाट गरेको बताउँदै आफूमाथि लागेको आक्षेपको प्रतिवाद गर्दै आएका थिए । माओवादीका नेता वर्षमानका भाइ प्रनिश र उनको निकै लामो समय देखि पारिवारिक सम्बन्ध रहेको बताइएको छ । यसको सम्पूर्ण योजनाकार सहकारी ठगी प्रकरणमा फरार रहेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन रहेको स्रोत बताउँछ ।माओवादीका नेता वर्षमान पुनले भने आफ्नो प्रतिरक्षा गर्न सहिद परिवारको हवाला दिए पनि रोका सहिद परिवारको सदस्य नरहेको रोल्पाकै माओवादी नेताहरूले दाबी गर्ने गर्छन् । वर्षमान पुनले सहिद परिवारकी रोकाको वैवाहिक सम्बन्धको कारणले दावासँग आठ वर्षअघि भेटघाट भएको बताएका थिए ।
उनले अरु थप सम्बन्धबारे खुलासा गर्न नसक्ने गरी विलखबन्दमा परेपछि आफू र श्रीमती पूर्वसभामुख ओनसरी घर्तीको विगतदेखिकै सम्बन्धको बारेमा पुनले अनभिज्ञता प्रकट गर्दै आएका थिए । पुनको तिब्बतियन नागरिक दावा र रोल्पाकी रोकाबीचको निकटता निकै लामो समयदेखि निरन्तर रहेको रोकाकै पारिवारिक स्रोतले जनाएको छ ।उनको लामो समयदेखिको सम्बन्धको खुलासा भएसँगै यस प्रकरणमा माओवादी नेताहरूको भूमिका थप शंकास्पद देखिएको छ ।सदैव सम्पर्क र पारिवारिक सम्बन्धमै रहेका वर्षमान पुन दम्पत्तिको तस्करसँगको पारिवारिक सम्बन्ध र भूमिकाले यस प्रकरणमा माओवादी नेताहरूको संलग्नताबारे बाहिरिएको चर्चालाई थप मलजल पु¥याएको छ ।सुन कारोबारीको मुख्य जमघट हुने स्थलका रूपमा रहेको भन्दै प्रहरीले बारम्बार छापा हानेको ठमेलको भियना होटेल समेत रोकाको नाममा रहेको पाइएको छ । यद्यपि उक्त होटलमा लगानी सुन तस्करीको अभियोगमा पक्राउ परेका उनै तिब्बतियन नागरिक दावा छिरिङकै लगानी रहेको बताइन्छ । रोकालाई पक्राउ गरेर कानुनी प्रक्रियामा लैजाँदा थप माओवादी नेताहरूसँगको सम्पर्क सञ्जाल सार्वजनिक हुने भएकाले पनि उनलाई पक्राउलगत्तै भगाइएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मुख्य अभियुक्त दावा छिरिङको पक्राउपछि राजस्व अनुसन्धान विभागमा कार्यरत नेपाल प्रहरीका एसपी कृष्ण पंगेनीले अमला रोकासँग कुराकानी गरेको र त्यसलगत्तै पक्राउ गरेर उनलाई भारत भगाइए पनि त्यसयता अमलाको कुनै अत्तोपत्तो छैन ।उनलाई छोड्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगाना र एसपी पंगेनीको मिलेमतो रहेको स्रोतको दाबी छ । त्यसपछि अमलाको फोन पटक–पटक ट्रयापिङ गर्न खोज्दा समेत त्यतिबेला हुन नसकेको एक पूर्वगृहमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।यसमै अर्को रहस्यमय कुरा के छ भने सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगबाट समेत अमलालाई उन्मुक्ति दिएको छ । रोकाका श्रीमान् भनिएका दावा छिरिङको संलग्नता रहेको आरोपमा पक्राउ गरिएको ६० केजी सुन विमानस्थलबाट पक्राउपछि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोग गठन गरिएको थियो ।
पोखरा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा फरार रहेकी रोकाको संलग्नताबारे कहीँ कतै उल्लेख गरिएको छैन ।यी सबै योजनाबद्धरूपमा भएको र त्यसयता उनी कुनै पनि सम्पर्कमा नरहेकाले उनको अवस्था हालसम्मै अज्ञात रहेकी छिन् ।यस विषयमा रोकाको परिवारिक स्रोतसँग सम्पर्क गर्दा पनि उनको अवस्था अज्ञातै रहेको जानकारी गराए । उनीहरूले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन् । रोकाको कुनै पनि अवस्थाको जानकारी नपाएको र उनको अवस्था जीवितै छ या छैन भन्ने समेत यकिन नभएको भन्दै संशय प्रकट गर्ने गर्दछन् ।माओवादीका प्रभावशाली नेताहरूसँग नाम जोडिएको र यसअघि पक्राउ गरेर योजनाबद्धरूपमा फरार गराइएकाले स्थिति थप गम्भीर हुनसक्ने भयले त्रासदीपूर्ण अवस्थामा परिवारजन रहेको छ । उनको अवस्था जे पनि हुनसक्ने पारिवारिक स्रोतले आशंका व्यक्त गर्नेगरेको छ । उनको पक्राउपछि आफूहरूको पोल खोलिने सम्भावित अवस्थाको आकलन गर्दै रोल्पाका माओवादी नेताहरूले आफ्नो सरकार रहेकै बेलामा उनलाई भगाइएको भन्दै परिवारजन सशंकित छ ।
तिब्बती मूलका दावा छिरिङको सम्बन्ध पहिल्यैदेखि माओवादी नेताहरूसँग भएको र उनीहरूकै रोहवरमा बिहे समेत गराइएकाले यो सबै तिनै माओवादी नेताहरूबाट भएको आशंकाले अमलाको परिवार त्रसित रहेको छ । ‘प्रहरीले गिरफ्तार गरेको भए कम्तीमा जिउज्यान सुरक्षित हुनसक्ने थियो तर भगाइएपछि उनको अवस्थाबारे केही जानकारी पाउन सकिएको छैन’, पारिवारिक स्रोतले दुखेसो पोख्यो ।नेताहरूले आफैँ विवाह गराइदिएर अवैध कारोबारमा संलग्न गराएको र त्यसको बलियो प्रमाण रोकाबाटै उजागर हुने भयले माओवादी नेताहरूबाटै भगाइएको पारिवारिक स्रोतको दाबी छ । आफू जोगिन उनको अवस्था जे पनि गराउन सक्ने भन्दै पारिवारिक स्रोतले चिन्ता प्रकट ग¥यो । ती माओवादी नेताहरूको बलियो प्रमाणका रूपमा रहेकी अमलाको लापत्ता घटनालाई रफादफा बनाउनकै लागि अज्ञात भएको हुनसक्ने भन्दै अमला रोकाको अज्ञात स्थितिले परिवारजनमा त्रासदी निम्त्याएको छ ।