काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भेला भएका उद्योग व्यवसायीले देशभरका रुग्ण उद्योग पुनःसञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् । यहाँ दुई दिनसम्म सञ्चालन भएको नेपाल उद्योग तथा व्यवसाय महासंघको राष्ट्रिय विस्तारित बैठकले उत्पादन बन्द भई रुग्ण अवस्थाका उद्योग सञ्चालन गर्न सरकारसँग आग्रह गरेको हो ।
भेलाले तयार पारेको नौ बुँदे ‘नवलपुर चितवन घोषणापत्र’ सार्वजनिक गर्दै राष्ट्रिय भेला संयोजक डा तिलचन्द्र भट्टराईले गैँडाकोटको भृकुटी कागज कारखानालगायत देशभर बन्द अवस्थाका सबै उद्योगलाई सरकार र निजी क्षेत्रको साझेदारी अवधारणामा पुनः सञ्चालनमा ल्याउन सरकारसँग माग गरे । उद्योग व्यवसायीले राष्ट्रिय पुँजी निर्माण गर्न उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै कानुनसम्मत रूपले व्यवसाय सञ्चालन गर्न चाहे पनि ऐन, कानुन र नियमावलीका कारण समस्या भएकाले राज्यले सहज किसिमले समस्या समाधान गरिदिन भट्टराईले आग्रह गरे । राष्ट्रिय पुँजी निर्माण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना सार्थक बनाउन नेपालका आर्थिक समृद्धिका प्रमुख स्रोतहरू कृषि, पर्यटन, जलस्रोत, आईटी र खनिज क्षेत्रको विकास र न्यायोचित वितरण गर्नुपर्ने बताए ।
नेपालको धार्मिक पर्यटनको सम्भावना बोकेको देवघाटधाम, नारायणी नदी, त्रिवेणीधामसँगै अयोध्यापुरी र राम जन्मभूमिलगायत क्षेत्रलाई समेटी राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । महत्वपूर्ण धार्मिक पर्यटकीय र ऐतिहासिक क्षेत्रमा कुनै पनि फोहोरजन्य पदार्थ विसर्जन नगर्ने गरी यसको शुद्धता कायम गर्दै पर्यटकीय आर्थिक क्षेत्रको रूपमा विकास गर्न माग गरिएिको छ । त्यस्तै, कोरोला नाकासहित गण्डकी करिडोरलाई व्यवस्थित गर्न तीन तहकै सरकारसँग आग्रह गरिएको छ । नेपालको उत्तर दक्षिणमा रहेका दुई छिमेकीमूलुक भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीमा पर्ने केरुङ रसुवागढीहुँदै माडी ठोरीसम्मको द्रूतमार्ग निर्माण गरी यो क्षेत्रलाई आन्तरिक र बाह्य व्यापारको प्रमुख व्यापारिक केन्द्र (ट्रेडिङ हब) बनाउन घोषणापत्रमार्फत अपिल गरिएको छ ।