काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्दै उनले नेपाल कला, संस्कृति र परम्पराका हिसाबले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरुक हुनुपर्नेमा जोड दिए ।
महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक रहेको देखाएको उनको भनाइ थियो । देशमा प्रजातान्त्रिक व्यवस्था आइसकेपछि बहुजातीय, बहुभाषिक, बहुधार्मिक नेपाली समाजमा रहेका सबै धर्म, भाषा संस्कृतिले स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित राख्दै अझ समृद्ध गर्न पाएको उनले बताए । ‘तपाईंहरूको महोत्सवमा यस वर्ष सहभागिता उल्लेख्य देखिएको छ । यसले आफ्नो भाषा, धर्म संस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रीतिथिति परम्परा जोगाउन वर्तमानमा सक्रिय भए जोगिने रहेछ भन्ने देखाउँछ,’ उनले भने, ‘पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समृद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौँ, त्यसलाई संरक्षण र सम्वर्द्धन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दा कसैलाई अप्ठ्यारो नहुनेगरी प्रयोग गर्दा त्यसले राम्रो गर्छ भन्नेमा ध्यान दिन जरुरी छ ।’ राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन सबैले आफ्नो शक्ति लगाउन पनि उनले आग्रह गरे ।
सो अवसरमा पूर्वमन्त्रीत्रय देवप्रसाद गुरूङ, सीता गुरूङ, पार्वत गुरूङलगायतले कला, संस्कृति, भेषभुषा, नाचगान, चार्डपर्व मनाउने हिसाबले नेपालमा गुरूङ समुदाय समृद्ध रहेकाले यसको संरक्षण र सम्वर्द्धनमा सरकारको सहयोग आवश्यक रहेको बताए । महोत्सवमा गुरूङ समुदायबाट समाजका विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्तिलाई सम्मान समेत गरिएको थियो । नेपालमा पछिल्लो जनगणनाअनुसार गुरूङ समुदायको जनसंख्या पाँच लाख ४५ हजार सात सय ९१ रहेको छ । आदिवासी जनजाति समुदायका रूपमा रहेको गुरूङ समुदाय जल, जङ्गल र जडिबुटीसँग संरक्षण र सामिप्यमा रहने विश्वासिलो र साहसिक जातिका रूपमा विश्वभर पहिचान स्थापित छ । गुरूङ समुदायको गण्डकी प्रदेशमा बाक्लो बसोबास रहेको छ ।
गुरूङ समुदायको रोधीलाई समुदाय चलाउने र ज्ञानको स्तर बढाउने महत्वपूर्ण संस्कार र संस्कृतिका रूपमा लिने गरेको पाइन्छ । उक्त समुदायले यस वर्षलाई गरूडको बिदाइ र सर्पको स्वागत गर्दै मनाएका छन् । गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडीखेलमा महोत्सवमा आयोजना गरिएको हो । संविधानमा व्यवस्था भएअनुसार गुरूङ समुदायले आफ्नो भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता प्रदान गरी व्यावहारिक रूपमा कार्यान्वयन गर्न माग गर्दै आएको छ । तमु ह्युल छोज धिं गुरूङ राष्ट्रिय परिषद्का अध्यक्ष कर्णबहादुर गुरूङले संसारभर नै साहसिक जातिका रूपमा पहिचान स्थापित गरेको गुरूङ समुदायको चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षणमा सरकारलाई विशेष ध्यान पुर्याउन आग्रह गरे । महोत्सवका अवसरमा गुरूङ जातिको पहिचान, भेषभुषा र संस्कृति झल्कने झाँकी प्रस्तुतिका साथै समुदायको पहिचान र परिचय दिने एक सय बढी खानपिनसहितको प्रदर्शन कक्षको व्यवस्था गरिएको थियो ।