काठमाडौं । गुल्मीको बलेटक्सारमा प्रधान कार्यालय रहेको पैँचो पसल प्रालिले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना किसानहरूलाई सम्मान गरेको छ ।
पैँचो पसल प्रालिको केन्द्रीय कार्यालय गुल्मीको रुरुक्षेत्र गाउँपालिकास्थित बलेटक्सारमा आयोजित वार्षिकोत्सव कार्यक्रममा धेरै कृषि उत्पादन गर्ने, बेच्ने र संकलन गर्नेलाई सम्मान गरेको हो । कार्यक्रममा स्थानीय कृषक समूहले पनि पैँचो पसललाई सम्मान गरेका थिए । १० वर्षदेखि जिल्लामा किसानको कृषि उपज खरिद गर्दै देशभर पैँचो ब्रान्डबाट प्रशोधित उत्पादन गर्दै बिक्री वितरण गर्दै आएको छ । किसानसँग प्रत्यक्ष जोडिएर काम गरेको पैँचो पसलले ग्रामीण अर्थतन्त्रलाई उस्कानको लागि किसानका कृषि उपज खरिद गर्दै बजारमा पुर्याउने र प्रशोधित उत्पादन बनाउने काम गर्दै आएको छ ।
वार्षिकोत्सव कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पैँचोले किसानलाई आत्मनिर्भर बनाउन लागि ठूलो सहयोग गरेको बताए । पैँचोले निरन्तर किसानसँग मिलेर काम गर्दा रुरुक्षेत्र गाउँपालिकालगायत वरपरमा स्थानमा समेत कृषि कर्ममा लाग्नेको संख्या बढेको र यसले गाउँको अर्थतन्त्रमा सहयोग पु¥याएको उनले बताए । उनले भने, ‘अब गाउँमा मोबाइल चलाएर बस्ने होइन माटोमा काम गर्ने हो भने घरमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ भनेर पैँचोले सम्भावना देखाएको छ ।’ पालिकाले समेत अबका दिनका कृषि उपजमा उत्पादनको आधारमा अनुदान दिने र कृषकसँग जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो पालिकामा प्रधान कार्यालय राखेर एक सय ५० भन्दा बढी युवालाई रोजगारी प्रदान गरेको भन्दै ज्ञवालीले पैँचोप्रति आभार व्यक्त गरे ।
यस्तै, छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले कृषिमा आत्मनिर्भर हुँदै समाजवादको बाटोमा अगाडि लाग्नुपर्नेमा जोड दिए । निजी क्षेत्रबाट पैँचोले गाउँका लागि देखाएको कामले छत्रकोटका किसानलाई धेरै फाइदा भएको उनले बताए । पाण्डेयले भने, ‘पालिकाले ३१ वस्तुमा अनुदान दिएको छ । उत्पादनको आधारमा अनुदान दिने नीतिले कृषकमा उत्साह थपिएको छ । सबैले सकारात्मक धारणा बनाएर काम गर्ने हो भने गाउँबाट कृषि उपज सहरमा पुर्याउन सकिने सम्भावना बढेको छ ।’
पैँचो पसलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले किसान र बजारसँग जोडिएको १० वर्षमा नेपालको पहाडी क्षेत्र सम्भावनाको क्षेत्र भएको पैँचोले देखाएको बताए । अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्र लाग्ने कृषकहरूलाई सस्तो ऋण, अनुदानमा मल बीउ र उत्पादनको आधारमा अनुदान दिने नीति बनाउने हो भने नेपालको अर्थतन्त्र नै आत्मनिर्भर बन्न समय नलाग्ने उनले बताए । पैँचो पसलका प्रबन्ध निर्देशक धुव्र न्यौपानेले पैँचोले पहाडमा कृषि क्षेत्रमा सम्भावनाको ढोका देखाएको बताए । उनले सानो लगानीमा स्थापना गरेको पैँचो अहिले १५ करोडभन्दा बढी लगानी हुँदा गाउँका पाँच सय जना किसानलाई रोजगारी दिन सक्नु कृषिमा सम्भावना र अवसरको क्षेत्र भएको बताए । अबका दिनमा किसानसँग जोडिएर काम गर्न लगानी र प्रविधि विस्तार गरेर अगाडि बढ्ने बताए ।
उद्योग वाणिज्य संघको वलेटक्सार शाखा अध्यक्ष तोयनारायण ज्ञवालीले गाउँमा उद्योग खोलेर राज्यले गर्न नसकेको काम पैँचोले गरेको बताए । कार्यक्रममा उपस्थित स्थानीय किसानहरूले पैँचो कम्पनीले खेर गइरहेको तरकारीलाई आम्दानीको स्रोत बनाउन बाटो देखाएको बताएका थिए । आम्दानी गर्न गाउँ छोड्नुपर्ने बाध्यता पैँचोले मोडलका कारण हट्दै गएको उनीहरूले बताएका थिए ।
कार्यक्रममा पैँचोको स्मारिका ‘पैँचो प्रवाह’ विमोचन गरिएको थियो भने उत्कृष्ट किसानलाई समेत सम्मान गरिएको थियो । सर्वोत्कृष्ट कृषकमा इमानसिंह राणा, उत्कृष्ट संकलन शालिकराम ज्ञवाली, उत्कृष्ट कृषक रामबहादुर नेपाली, भुवन खनाल, कमला घिमिरे, मिना शिरीष, पुनाराम ढकाललगायतलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कम्पनीले बजार विभागको कर्मचारीमा धुव्र पौडेललाई समेत सम्मान गरेको थियो । कार्यक्रममा पैँचोमा सामान खरिद गर्ने भाग्यशाली ५० जनालाई लक्की ड्रमार्फत उपहार घोषणा गरेको थियो ।