काठमाडौं । पछिल्लो आमनिर्वाचनको वर्षदिनमा नै दुई पटक सहकार्य गरेका एमालेका अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यतिबेला को ठूलो भ्रष्टाचारी र धोकेबाज भनेर परिचय गराउने होड चलेको छ ।
जब नेताहरूले नै सार्वजनिक तहबाटै नेताहरूको परिचय यसरूपले गराउँछन् भने आमनागरिकले उनलाई कसरी चिन्ने÷बुझ्ने भन्ने प्रश्न खडा हुने भयो नै । सम्भवतः यस्तै परिचयले पनि हुनसक्छ नेतृत्वप्रति विश्वास र सम्मानभन्दा वितृष्णाकै वृद्धि भइरहेको । यी नेतालाई यिनै नेताले भन्दा अरुले बढी चिनेका पक्कै छैनन् होला ।
पछिल्लो समय यी नेताहरूले एकले अर्कालाई सार्वजनिक रूपले परिचय गराउँदा सबैभन्दा ठूला वा बढी भ्रष्टाचारीका संरक्षक समेत भनेर पोलापाल गरिहेको पाइन्छ । सार्वजनिकरूपमा लगाइएको भ्रष्टाचारको आरोप फौजदारी अभियोगसँग जोडिन्छ जो पछि उनीहरूले भनेको होइन भनेर प्रस्टीकरण दिँदा पनि धर पाइने अवस्था हुँदैन ।
संसद्का ठूला दुई दल कांगे्रस र एमालेको सरकार सय दिन नपुग्दै निवर्तमान प्रधानमन्त्री प्रचण्डले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी ओलीलाई भ्रष्टाचारीको ठूलो संरक्षक भनी आरोप लगाए भने प्रधानमन्त्री ओलीले पनि प्रचण्ड भ्रष्टाचारीका त्यस्तै संरक्षक, भ्रष्टाचारमा उनीहरूको गिरोह नै सक्रिय रहेको भनेर आरोप लगाए ।
देशको बहालवाला प्रधानमन्त्री र भर्खर मात्रै निवर्तमान भएका पूर्वप्रधानमन्त्रीले एक–अर्काबीच लगाइरहेका यस्ता आरोपहरू पूर्णरूपमा निराधार नै हुन् भन्ने ठाउँ हुँदैन । बरु वास्तवमा नै उनीहरूले गरेका कामले भ्रष्टाचारलाई कुन हदसम्म मलजल गरिहेको छ भन्ने आमतहमा नै प्रश्न उठ्न थालेको छ । पछिल्लो आमनिर्वाचनलगत्तै एमाले अध्यक्ष ओलीको समर्थनमा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका थिए । त्यो सरकारले दुई महिना पार नगर्दै अर्को गठबन्धन रोज्यो । फेरि यो गठबन्धनले वर्षदिन पार नगर्दै फेरि ओली–प्रचण्ड गठबन्धन भएर प्रचण्ड प्रधानमन्त्री भए । त्यसको केही समयमा नै ओली कांग्रेससँग मिलेर आफैँ प्रधानमन्त्री भए जसका कारण प्रचण्ड प्रतिपक्षमा पुगे ।
त्यस्तो सम्बन्ध भएका यी दुई नेताबीच अहिले जस्तो आरोप प्रत्यारोप भइरहेको छ यति उच्चतहका नेताको आमनागरिकले बुझ्ने परिचय के हो भन्ने प्रश्न उठ्छ । यसरी सहकार्य गरिहेका व्यक्ति वा नेता एकले अर्कालाई चिनेजानेअनुसार यति ठूला धोकेबाज र भ्रष्टाचारी हुन्छन् भने उनले भन्ने गरेको सुशासन र समाजको परिवर्तनका प्रतिबद्धताहरू केवल देखावटी मात्रै हुन् भन्ने आमनागरिकको बुझाइ बन्नु अस्वाभाविक होइन ।
ओली ठूला जाली र झेली – प्रचण्ड
यही पुस १५ मा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालकै सबैभन्दा बढी ‘जाली, झेली, कपटी र बेइमान’ व्यक्ति भनेर सार्वजनिकरूपमा नै चिनाएका छन् । प्रचण्डले ओलीबारे यस्तो परिचय दिन छानिएको ओलीको निर्वाचन क्षेत्र रहेको भन्नेले पनि केही अर्थ राख्ला । उनकै शब्दमा –
‘प्रधानमन्त्री केपी शर्मा ओली नेपालकै सबैभन्दा बढी ‘जाली, झेली, कपटी र बेइमान’ व्यक्ति हुन् । देशमा सुशासनको अभियान र भ्रष्टाचारविरूद्धको अभियान सुरु भइसकेको छ । यो खबरदारी सभा पनि भ्रष्टाचारीविरूद्धकै हो, म अस्तिको पटक यहाँ आउँदा यहाँका किसानका समस्याबारे पनि सुनेको छु । मैले गिरीबन्धु टि–इस्टेट मैले आफैँले हेरेको छु । त्यहाँका किसानहरूको समस्या सुनेको छु । सम्भवतः यो ठाउँ अहिलेका प्रधानमन्त्री देशको सबैभन्दा बढी जाली, झेली, कपटी, बेइमानी, मेरो लागि त यति धेरै जाली, यति धेरै झेली कि उनको ठाउँमा बोल्दैछु । उहाँको दिमागमा जालझेलबाहेक केही देखिँदैन । गिरीबन्धुमा गरेको बदमासीलाई पर्दाफास गरेर छोड्नेछु । गिरीबन्धु, ओम्नी, वाइडबडी यी तमाम समस्या छन् । मलाई प्रधानमन्त्रीबाट जबरजस्ती, अलोकतान्त्रिक र तानाशाहीरूपमा हटाइयो । सुई गिरीबन्धुतिर जाँदैथियो । गिरीबन्धुतिर सुई जानु ओलीतिरै जानु हो । बेचन झा गिरफ्तार भएपछि अर्कोतिर पनि सोझियो । त्यसपछि आतङ्क भयो । सोझो कुरा त्यति नै हो । यो भ्रष्टाचारी बचाउन बनेको सरकार हो । यसले विकासका काम गर्छ भन्नु दुर्भाग्य हुनेछ ।’
प्रचण्डको गिरोह नै भ्रष्टाचारको संरक्षक– ओली
गएको मंसिर २८ को एउटा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गिरोह नै भ्रष्टाचारीको संरक्षक हो । उनकै शब्दमा –
‘अहिलेसम्म जे–जति नराम्रा कामहरू भए तिनको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष दाहालले गरिरहेका छन् । माओवादी जुन दिन देशमा पलायो, त्यो दिनबाट जाली, फटाहा, बेइमान, कहिले मुद्दा हाल्ने, के गर्ने, मान्छेहरूलाई दुःख दिने, कुप्रचार गर्ने, यो सबै काम माओवादीको नेतृत्वमा भइरहेको छ । नराम्रा कामहरूजति प्रचण्ड महोदयले, नराम्रा कामहरूको नेतृत्व गरिरहनुभएको छ । उहाँहरूको गिरोह सक्रिय छ । अरु होइन, नेकपा एमालेका विरुद्ध सक्रिय छ, त्यसमा पनि मेराविरुद्ध सक्रिय छ । शिवजीले विष सेवन गरेर कहिले गोसाइँकुण्ड पुग्नुहुन्थ्यो, कहिले कता । म यहीँ काठमाडौं बसीबसी पिइदिन्छु, पचाई पनि दिन्छु । जसले जे–जे फैलाए पनि त्यसको खण्डन गरेर जाने हो । झुटसँग हामी कहिले पनि टेर्दैनौँ । झुटलाई पराजित गरेर जाने हो । कहिले सबैभन्दा ठूलो भ्रष्टाचारी, देशै लुटेर फेरि एमाले भ्रष्टाचारी, फेरि केपी ओली भ्रष्टाचारी ? भ्रष्टाचारीको संरक्षक भएर, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने हाम्राविरुद्ध लड्न सक्दैनन् । भ्रम फिँजाएर कसरी अविश्वास पैदा गर्ने ? मान्छेका मनबाट आस्था कसरी हटाउने ? यिनीहरूलाई परेको पिर के हो भने नेकपा एमाले स्थापित भयो, एमालेको अध्यक्ष स्थापित भयो, त्यस कारणले यिनीहरूलाई पिर परेको हो । आफू पनि राम्रो काम गरेको भए त हुन्थ्यो नि । कुनै पनि भ्रष्टाचारीले कुनै भ्रमको सहायता लिएर कुनै प्रकारका अनुचित, असंवैधानिक, गैरकानुनी, हिंसात्मक, झुट, बेइमानीको बाटो लिएर भ्रष्टाचारबाट उम्किन्छु भन्ने नसोचून् ।’
ओली भ्रष्टाचारीका सबैभन्दा ठूला संरक्षक– प्रचण्ड
ओलीले प्रचण्डबारे यस्तो परिचय दिएका केही पहिले गएको कात्तिक ५ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानन्त्रीले नै वर्तमान सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको जनाएका थिए । पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टर जुम्लाले गरेको पत्रकार भेटघाटमा उनले भनेका थिए– मैले उतिबेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो, भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, सरकार गठनको तीन महिना पुग्दैछ, तपाईँहरूले सबै देखिरहनुभएको छ । मेरो नेतृत्वको सरकारले जसलाई राज्यको जमीन जबरजस्ती व्यक्तिका नाममा लैजानेजस्तो ठगी गरेको कारण गिरफ्तार गरेको थियो र अदालतमा मुद्दा पनि चलिहरको छ, तिनै व्यवसायीबाट जग्गा दान लिनेजस्तो कार्य गरेर प्रधानमन्त्री आफैँले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् । सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् । देशमा महत्वपूर्ण उपलब्धि भइरहेको बेला हामीले भ्रष्टाचारीलाई कारबाही बढाउँदै लगेको देखेपछि खासगरी नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरेपछि बूढानीलकण्ठ र बालकोटमा निकै ठूलो भूकम्प गयो र रातारात अस्वभाविकरूपमा माफियाहरूको क्रियाशीलतामा सरकार बनाइयो ।’