काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पौष १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू– महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका सेवाहरू निःशुल्करूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
बैंकले सबै प्रदेशहरूमा यही पौष महिनामा उक्त शिविरहरू सञ्चालन गर्नेछ । जसअन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौंडा उपमहानगरपालिका वडा नं ११ मकवानपुरस्थित सरस्वती टोल हलमा पौष १८ गते बिहीबार, मधेश प्रदेशमा कलौया उपमहानगरपालिका वडा नं. १, बारा स्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका वडा नं. १ पर्वत स्थित भुक स्वास्थ्य चौकीमा पौष २० गते शनिबार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङस्थित आधारभुत स्वास्थ्य चौकी, बर्खी टोलमा पौष २१ गते सोमबार, लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका वडा नं. ११, रूपन्देहीस्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पौष २३ गते बुधबार, कर्णली प्रदेशमा वीरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतस्थित दौलाटपुर स्वास्थ्य चौकीमा पौष २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं. ८ कैलालीस्थित स्याउले आधारभूत स्वास्थ्य चौकीमा पौष २८ गते सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।