काठमाडौं । वातावरणीय अभियानहरूमा क्रियाशील संस्था मैनादेवी फाउन्डेसन (एमडीएफ) रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जब प्रालिबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
दुई संस्थाबीच काठमाडौं ट्रयास कलेक्सन रेस(केटीसीआर) २०२५ का लागि मुख्य प्रायोजकको रूपमा सहकार्य गर्ने सम्झौता भएको हो । यही पुस २७ गते आयोजना हुने काठमाडौं ट्रयास कलेक्सन रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान हो । तीनकुनेबाट सुरू हुने यस कार्यक्रममा सहभागीहरूले जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् । साथै, पाँच किलोमिटरसम्म फोहोर संकलन गर्ने जनाइएको छ । यस अभियानले स्वास्थ्य, समूहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई एकसाथ जोड्दै हरियालीको महत्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले रोजगारीका अवसरहरू मात्र सिर्जना गर्ने नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्नेमा कम्पनीले जोड दिने बताए । सोही अनुरूप कम्पनीले काठमाडौं ट्रयास कलेक्सन रेसको लागि मैनादेवी फाउन्डेसनसँग सहकार्य गरेको उनको भनाइ थियो । यस सहकार्यले नागरिक सचेतना बढाउँदै भावी पुस्ताको लागि सुरक्षित वातावरण तयार गर्ने उनले बताए । यो वर्षको ट्रयास कलेक्सन रेसमा तीन सयभन्दा बढी स्वयंसेवकहरू परिचालन हुने भएका छन् भने तीन हजारभन्दा बढी नागरिकहरू सहभागी हुने अपेक्षा गरिएको छ ।