काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको समयमा तत्कालीन उनका स्वकीय सचिवको संलग्नतामा शेरा दरबार जग्गा घोटाला भएको पाइएको छ । उक्त जग्गा घोटाला उनी प्रधानमन्त्री हुँदा उनकै स्वकीय सचिव विकेश श्रेष्ठको नाममा शेरा दरबारको जग्गा लगिएको थियो ।
आफ्नै कार्यकालमा अप्रत्यक्षरूपमा संलग्नता भएर शेरा दरबार जग्गा घोटाला गर्ने÷गराउने तत्कालीन प्रधानमन्त्री प्रचण्डले लाजै नमानी बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त घोटालाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
नुवाकोटको विदुर नगरपालिकास्थित शेरा दरबार र त्यसले चर्चेको एक सय ८४ रोपनी चार आना एक पैसामध्ये एक सय ६४ रोपनी १३ आना दुई दाम जग्गा प्रचण्ड प्रधानमन्त्री हुँदा हिनामिना गरेर कम्पनीको नाममा सारिएको थियो । २०७३ सालमा दाहाल प्रधानमन्त्री भएका बेलामा अन्नपूर्ण फार्मिङका नाममा लालपुर्जा रहेको जग्गाको हदबन्दी छुटका लागि भूमिसुधार विभागबाट मन्त्रालयमा पुगेको पत्रलाई अघि बढाइएको र नुवाकोट मालपोत कार्यालयले हदबन्दी छुट दिन नमिल्ने राय दिएपछि सो प्रक्रिया रोकिएको पाइएको थियो ।
२०७३ साल असारमा कानुनीरूपमा कम्पनीमा प्रवेश गरेका विकेश श्रेष्ठलाई सो जग्गा हदबन्दीमा रहेको जानकारी भए पनि जानाजान उनी त्यस कम्पनीमा प्रवेश गरेको प्राप्त कागजात प्रमाणहरूबाट देखिएको छ । दाहाल प्रधानमन्त्री हुने बेलामा उनी कम्पनीमा प्रवेश गरेको र सेयरको अन्तिम कारोबार पनि दाहाल नै प्रधानमन्त्री भएको बेला गरिएको कागजातमा उल्लेख छ ।
त्यसअघि भूमि सुधार विभागबाट हदबन्दी छुटका लागि परामर्श गर्नुका साथै छुट दिने प्रक्रिया अघि बढाइएको (सीआईबी)ले गरेको अनुसन्धानमा देखिएको छ । समाचार स्रोतका अनुसार पछिल्लो पटक २०७९ पुसमा दाहाल प्रधानमन्त्री भएको बेलामा सीआईबीले सो जग्गाको अनुसन्धान गर्ने क्रममा पनि दाहालले नै रोकेको पाइएको छ ।
पछिल्लो समय राष्ट्रवादी युवा समूहको नामबाट सीआईबीले उजुरी लिएर अनुसन्धान सुरु गरेको थियो । सो अनुसन्धानपछि सीआईबीले एक सय ६४ रोपनी जग्गा कम्पनीका नाममा पठाउने र किनबेच गराउने समूहको थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाएको छ ।
नुवाकोटको विदुर नगरपालिका ४ बस्ने ध्रुवलाल श्रेष्ठ, सेयर कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाख रुपैयाँमा किनबेच भएको देखिएको छ । त्यसैगरी काठमाडौं नागार्जुन नगरपालिका ७ बस्ने सुमन पारिक कित्ता संख्या ४५ हजारको मूल्य ४५ लाख समेत गरी चार जनाको नाममा ११ करोड १७ लाख ९१ हजार सेयर खरिदबिक्री भई जग्गा कम्पनीका नाममा लगेको देखिएको छ । २०८० मंसिर १० गतेसम्म उनीहरूमध्ये विकेश श्रेष्ठ र अजयकुमार सूर्यवंशी यथावत् रही विकेश श्रेष्ठका छोरा मनोबल श्रेष्ठलाई सेयर कित्ता संख्या ९० हजारको मूल्य ९० लाख रुपैयाँमा नयाँ सेयरधनी ल्याइएको थियो । हाल सेयरधनी तीनै जना मात्रै छन् । श्रेष्ठद्वय बाबुछोरा हुन् । यो सेयर खरिद भईसक्दा पनि दाहाल तेस्रो पटक प्रधानमन्त्री भएको थिए । त्यसैले यसलाई संयोग मात्र मान्न सकिने आधार देखिएको छैन ।