काठमाडौं । फोटोन नेपालले नेपालगञ्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रममार्फत् आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ । विशेषगरी नेपालको चुनौतीपूर्ण भू–भागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३ दशमलव ५८ किलोवाट ब्याट्री रहेको छ । यसले तीन किमिसम्मको दायरा प्रदान गर्ने कम्पनीले जनाएको छ । एक सय ३० किलोवाटको चरम शक्ति र तीन सय ३० एनएमको अधिकतम टर्क भएको यो ईभी भिरालो बाटाहरूमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ । उद्घाटनको यस महत्वपूर्ण अवसरमा फोटोन नेपालले तीन दिने एक्सक्लुसिभ टेस्ट ड्राइभ कार्यक्रमको पनि आयोजना गरेको छ । सो कार्यक्रममा ग्राहकहरूले माउन्टेन ईभी भ्यानको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न लिएका थिए । यस्तै, कम्पनीले सुर्खेत रोड, मिलननगर, वडा–२० (भेरी कर्णाली पेट्रोल पम्पको अगाडि) मा आफ्नो नयाँ सोरुमको पनि उद्घाटन गरेको छ ।
एमएडब्लु वृद्धि ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्तरूपमा सोरुमको उद्घाटन गरेका थिए । कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि सञ्चालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो । माउन्टेन ईभी भ्यान नेपालगञ्जजस्ता सहरहरूमा स्कुल यातायात, सरकारी फ्लिट र कर्मचारी सटलसहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ । १४–१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्ने जनाएको छ ।
एमएडब्लू वृद्धिका एमडी विवेक सिकरियाले देशको विविध र चुनौतीपूर्ण सडक अवस्थालाई सम्हाल्न सक्ने वातावरणमैत्री र शक्तिशाली विकल्प प्रदान गर्दै फोटोन माउन्टेन ईभी भ्यान नेपालीहरूको यात्रा गर्ने शैलीलाई रूपान्तरण गर्न तयार रहेको बताए । असाधारण पुलिङ पावर, विस्तारित दायरा र उच्चस्तरका विशेषताहरूका साथ माउन्टेन ईभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ ।