काठमाडौं । नेपाल राष्ट्र बैंकले यही पुस ११ गते क्षेत्रीयस्तरको कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्यो । समस्याग्रस्त घोषणा गर्नुको प्रमुख कारण थियो, बैंकको निष्क्रिय कर्जा । बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणमा सात दशमलव २७ प्रतिशत निष्क्रिय कर्जा देखाएको थियो । तर, त्यसमा आशंका उत्पन्न भएपछि राष्ट्र बैंकले बैंकको स्थलगत अनुगमन ग¥यो र निष्क्रिय कर्जा ४० प्रतिशतभन्दा धेरै रहेको भेट्यो । त्यसपछि केन्द्रीय बैंकले सो बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएको छ ।
अहिले जानकी फाइनान्सको अवस्था पनि त्यस्तै देखिएको छ । राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा धेरै हुनु राम्रो मानिदैन । बढी भएको खण्डमा राष्ट्र बैंकले कारबाही गर्दै निक्षेप तथा कर्जा प्रवाहमा न्यूनतम सीमा तोकिदिने, शाखा विस्तार, कर्मचारीको सरुवा, बढुवा, नयाँ कर्मचारी भर्ना, सेवा सुविधामा बृद्धि गर्ने लगायतमा रोक लगाउने छ । अहिले जानकी फाइनान्सको अवस्था पनि कर्णाली विकास बैंकको जस्तै रहेको छ ।
तर जानकी फाइनान्सको निष्क्रिय कर्जा यस आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार करिब ३५ प्रतिशत पुगेको छ । तर यो अवधिमा फाइनान्सले छ करोड ९० लाख ५५ हजार आठ सय ६७ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा चार लाख ३६ हजार चार सय २१ रुपैंयाँ थियो । निष्क्रिय कर्जा उच्च हुँदा पनि नाफा उच्च देखिनुले आशंका उत्पन्न भएको छ ।
६९ करोड चार लाख ७२ हजार आठ सय रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सले गत कात्तिक मसान्तसम्म चार अर्ब ३६ करोड ७९ लाख ५४ हजार पाँच सय ६८ रुपैयाँ निक्षेप सङ्कलन गरी तीन अर्ब नौ करोड १६ लाख २१ हजार सात सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ९३ लाख ४४ हजार सात सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने निष्क्रिय कर्जा ३४ दशमलव ६४ प्रतिशत छ भने स्प्रेड दर चार दशमलव ६० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले तीन अर्ब ५७ करोड ६१ लाख ८६ हजार ९७ रुपैयाँ निक्षेप सङ्कलन गरी तीन अर्ब १२ करोड ६५ लाख २९ हजार आठ सय ३१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड १० लाख ८० हजार ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको निष्क्रिय कर्जा १७ दशमलव ६० प्रतिशत थियो भने स्प्रेड दर चार दशमलव ५७ प्रतिशत थियो ।
केन्द्रीय कार्यालय जनकपुरमा रहेको जानकी फाइनान्समा बलराम प्रशाद गुप्ताको अध्यक्षतामा अमरनाथ गुप्ता, शुन्दर राजथली, सरोजकुमार ठाकुर र ममता दलीसहितको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको पदमा दिनेशकुमार शर्मा छन् भने कर्जा प्रमुख सियाराम यादव छन् । जनकपुरमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले केन्द्रीय कार्यालयसहित महोत्तरी जिल्लाको ब्रम्हपुर, सिराह जिल्लाको गोलबजार, महोत्तरी जिल्लाकै मटिहानी र धनुषा जिल्लाको सबैला शाखामार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।