सर्लाही । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले विकास निर्माणको कामलाई दिगो ढङ्गले अघि बढाइरहेको बताएका छन् । जिल्लाको हरिपुर नगरपालिकामा सहरी विकास मन्त्रालयद्वारा निर्मित व्यावसायिक भवनको शनिबार उद्घाटन गर्दै उनले वर्तमान सरकार दिगो विकास र स्थायित्वको लागि बनेको बताए ।
जनताका आवश्यकता र आकांक्षा वर्तमान सरकारले नै पूरा गर्ने बताउँदै उनले तीनै तहको सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उनले यो सरकार बन्नुअघि नै बजेट निर्माण भइसकेकाले कतिपय स्थानीय तहका मागलाई सम्बोधन गर्न कठिनाइ भइरहेको बताए । उनले भने, ‘हामी प्रसायरत छौँ, नभए आगामी बजेटमा भए पनि स्थानीय तहहरूबाट आउने मागहरूलाई सम्बोधन गछौँ ।’ उनले हरिपुर नगरपालिकाको आर्थिक समृद्धिमा नवनिर्मित भवन महत्वपूर्ण हुने बताउँदै नवनिर्मित भवनको सञ्चालन, व्यवस्थापन र संरक्षणमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए । जुन प्रयोजनको लागि भवन निर्माण भएको हो सोही प्रयोजनको लागि काम गरेर नगरको आर्थिक उन्नतिमा काम गर्न उनले आग्रह गरे ।
बैंक, वित्तीय संस्था, साना व्यवसायीका लागि सो भवन उपयोगी हुने उनले विश्वास व्यक्त गरे । भवन बनाउँदा निर्माण व्यवसायीहरूबाट ढिलासुस्ती हुनेगरेकोमा हरिपुर नगरपालिकाको यो व्यावसायिक भवन समयमै निर्माणसम्पन्न गरेको भन्दै निर्माण व्यवसायीहरू समेत धन्यवादको पात्र भएको बताए । निर्माण व्यवसायी कम्पनी श्री बज्रगुरु/एक्सिस एसिएम जेभी जनकपुरले सो व्यावसायिक भवन र हजारविघा चोकदेखि हरियाली माईस्थानसम्मको ३.५ किलोमिटर अस्फाल्ट बाटो(कालोपत्रे) निर्माण गर्न २०८१ साउन २५ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । निर्माण कम्पनीले एक महिनाअगावै अर्थात् २०८१ असार २० गते नै निर्माण सम्पन्न गरेको थियो । सो भवन र कालोपत्रे गरी कुल १३ करोड ३८ लाख ३२ हजार चार सय ८४ रुपैयाँ ३२ पैसामा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हरिपुर नगरपालिकाले जनाएको छ ।
नवनिर्मित व्यावसायिक भवनको भुइँतल्लामा १४ ओटा व्यापारिक सटर र महिला पुरुष र अपाङ्गमैत्री शौचालय रहेको छ भने पहिलो तल्लमा १४ ओटा व्यापारिक सटरसहित शौचालय रहेको छ । यस्तै माथिल्लो तल्लामा चारवटा च्याम्बरसहित महिला पुरुष शौचालय गरी तीनतल्ले भवन इलेक्ट्रिकल सेनेटरी स्टलेसनसहित सम्पूर्ण निर्माणकार्य सम्पन्न भएको हो । खुद्रा व्यापारका लागि पसलहरू र डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने, थोक व्यापारका लागि गोदाम र थोक विक्रेता स्टलहरूको व्यवस्थापन, सेवा व्यवसायअन्तर्गत वित्तीय संस्थाहरू बीमा कम्पनीहरू र अन्य सेवाका कार्यालयहरूलाई भवन भाडा लगाउने, खाद्य तथा पेय व्यवसायका लागि रेस्टुरेन्ट, क्याफे र फुडकोर्टहरू सञ्चालन गर्ने नवनिर्मित बहुउद्देश्यीय व्यावसायिक भवनको उद्देश्य रहेको हरिपुर नगरपालिकाका मेयर गोपाल पञ्जियारले जानकारी दिए ।
भवनको उद्घाटन कार्यक्रममा नगरप्रमुख पञ्जियारले लखनदेही नदीमा पुल निर्माणसहित विभिन्न परियोजनाहरूको निर्माणका लागि सहयोग गरिदिन मन्त्री सिंहसँग आग्रह गर्दै योजनाको फाइल हस्तान्तरण गरेका थिए । कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, पूर्वमन्त्री एवं नेपाली कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंंह, संविधानसभा सदस्यद्व रामचन्द्र चौधरी र शम्भुलाल श्रेष्ठ, मधेश प्रदेशसभा सदस्य जंगीलाल राय, जिसस सभापति कौशलकिशोर सिंह र विभिन्न पालिकाका प्रमुख तथा स्थानीयको उपस्थिति रहेको थियो ।