काठमाडौँ । मौसममा आएको खराबीका कारण ‘भिजीबिलिटी’ कमजोर हुँदा मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन ।
काठमाडौँ बाहिरका विमानस्थलमध्ये भरतपुर, पोखरा, भद्रपुर र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुन नसकेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन् । काठमाडौँ विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । काठमाडौँबाट आन्तरिकतर्फ सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।
हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजीविलिटीका कारण उडान हुन नसकेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले बताएका छन् । तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उनले बताए ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जनाएको छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले बताए । उनका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको छ ।