काठमाडौैं । सिद्धार्थ बैंकले जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्णबहादुर बलम्पाकी पक्राउ परेको एवं बैंकबाट कर्जा असुली प्रक्रियामा अनियमितता भएको समाचार विभिन्न सञ्चार माध्यममा आएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वास्तविकताभन्दा बाहिर गई सम्प्रेषित समाचारले बैंकप्रति भ्रम सिर्जना हुनगएकोले घटनाको सम्बन्धमा सत्यतथ्य विवरण सार्वजनिक गर्नुपरेको बैंकले जनाएको छ । बैंकले विज्ञप्ति जारी गर्दै क्षीरेश्वर शाखा कार्यालय तथा जनकपुर शाखा कार्यालयबाट कर्जा उपभोग गरेका ऋणीहरुले बैंकलाई भुक्तानी गर्नुपर्ने साँवा एवं ब्याज निर्धारित भाका नाघेको लामो समयसम्म पनि चुक्ता भुक्तान नगरेपछि बैंकले पटक–पटक मौखिक एवं लिखितरुपमा पत्राचार गरेको, ३५ दिने सार्वजनिक सूचनामार्फत जानकारी गराएको, सो समयावधिभित्र समेत कर्जा राफसाफ नगरेकोले कानुनबमोजिम कर्जा असुलीको थप प्रक्रियास्वरुप धितो लिलामीको लागि दोस्रो पटक सूचना प्रकाशन गर्दा रीतपूर्वक प्राप्त बोलपत्रमध्येबाट आवश्यक प्रक्रिया पूरा गरी स्वीकृत बोलपत्रदाताको नाममा दा.खा. नामसारी गरेको जनाएकोे छ ।
बैंकले कानुनी प्रक्रिया एवं प्रचलित बैंकिङ अभ्यासको पद्धति अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा असहमति जनाई ऋणी/धितो जमानतदाता समेतको संलग्नतामा २०८१ पुस ११, १२ र १४ गतेका दिन केही व्यक्तिहरुले बैंकको विद्यापति चोक, रामानन्द चोक एवं जनकपुर शाखा कार्यालयमा धर्ना दिने, नाराबाजी गर्नेलगायतका क्रियाकलाप गरी बैंक सञ्चालनमा समेत व्यवधान खडा गरेको जनाएको छ ।
बैंकले स्थानीय सुरक्षा निकायलाई सोबारे जानकारी गराएको, सुरक्षा निकायको आग्रहअनुसार पुस ११ गते बैंकको जनकपुर शाखाका प्रबन्धक र कर्जा हेर्ने कर्मचारी जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि जाँदाको विषयलाई लिएर भिडियो खिचेर शाखा प्रबन्धक पक्राउ परेको भन्दै भ्रामक सामाचार सम्प्रेषण गरिएकोमा त्यसमा कुनै सत्यता नभएको जनाएको छ ।