काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखका रूपमा प्रविन पन्दाकले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । पन्दाकले बुधबार शपथग्रहण गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर कार्कीले उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । यससँगै पन्दाकले बुधबार नै कार्यभार सम्हालेकी छिन् ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सञ्चालक समितिको पुस १४ को निर्णयअनुसार यसका सञ्चालक समितिका सदस्य प्रविन पन्दाकलाई प्रबन्ध सञ्चालकका रूपमा नियुक्त गरेको थियो । उनलाई चार वर्षका लागि कार्यकारी प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो, कम्पनीले भनेको छ ।