काठमाडौं, साउन १
सिद्धार्थ बैंक लिमिटेडले बुधबार काठमाडौँस्थित नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पु-याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरूबाट बैंकिङ सेवा तथा सुविधाहरू निरन्तर प्रदान गरिरहेको छ ।
सजिलो बैैकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, एटीएम कार्ड, तीनभन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत् बैंकले उच्चस्तरीय बैकिङ सेवा प्रदान गर्दै आएको छ । बैंक ग्राहकहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३३ करोड ९९ लाख ८३ हजार तीन सय ३० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५९ करोड २९ लाख २७ हजार ७८ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३० अर्ब ३४ करोड ५८ लाख ५५ हजार रुपैयाँ निक्षेप संंकलन गरी एक खर्ब २४ अर्ब ३८ करोड ८१ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब १८ करोड ५५ लाख ४७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा दुुई दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले एक खर्ब १४ अर्ब ९२ करोड ३३ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब चार अर्ब ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ४० करोड ८४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।