काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजी चार खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब ३८ अर्ब ४३ करोड ८० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ अर्ब २४ करोड ८० लाख रुपैयाँ बढी हो । गत वर्ष चार खर्ब ३२ अर्ब १९ करोड रुपैयाँ चुक्ता पुँजी थियो ।
कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ८० अर्ब ७६ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बढी हो । गतवर्ष कात्तिकमा बाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७६ अर्ब ७६ करोड ६० लाख रुपैयाँ थियो । विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई अर्ब २१ करोड ३० लाख रुपैयाँ बढी हो । गत वर्ष कात्तिकमा विकास बैंकहरूको चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब २५ करोड २० लाख रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा तीन करोड ६० लाख रुपैयाँ बढी हो । गत वर्ष कात्तिकमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या छ हजार चार सय ९१ वटा छ । जसमध्ये वाणिज्य बैैैंकहरूको पाँच हजार ६५, विकास बैंकहरूको एक हजार एक सय ३७ र फाइनान्स कम्पनीहरूको दुई सय ८९ वटा शाखाहरू सञ्चालनमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल शाखा संख्या छ हजार चार सय २९ वटा थियो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार आठवटा, विकास बैंकहरूको एक हजार एक सय ३३ वटा र फाइनान्स कम्पनीहरूको दुई सय ८८ वटा शाखा सञ्चालनमा थिए ।
बैंकिङ क्षेत्रमा सञ्चालनमा रहेका एटीएम काउन्टरको संंख्या पछिल्लो अवधिमा पाँच हजार दुई सय ४४ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार आठ सय ३४ वटा, विकास बैंकहरूको तीन सय ४९ वटा र फाइनान्स कम्पनीहरूको ४१ वटा एटीएम काउन्टर सञ्चालनमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकिङ क्षेत्रमा कुल पाँच हजार ५९ वटा एटीएम काउन्टर सञ्चालनमा थिए । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार छ सय ६७ वटा, विकास बैंकहरूको तीन सय ४८ वटा र फाइनान्स कम्पनीहरूको ४४ वटा एटीएम काउन्टरहरू सञ्चानलनमा रहेको राष्ट्र बैंकको भनाइ छ ।