काठमाडौं । नेपालमा स्वास्थ्य सेवा दिन प्रतिदिन महँगो बन्दै गइरहेको डा.अमृत बोगटीले बताएका छन् । गंगालाल हस्पिटलमा मुटु विशेषज्ञ रहेका डा. बोगटीले सरकारी हस्पिटलको तुलनामा निजी क्षेत्रद्वारा सञ्चालित हस्पिटलले दिने सेवा निकै महँगो भएकाले स्वास्थ्य सेवा आमसर्वसाधारणको पहुँचभन्दा निकै टाढा रहेको बताएका हुन् ।
‘म सरकारी हस्पिटलमा कार्यरत छु, तर मैले मेरो परिवार वा कुनै आफन्तलाई निजी हस्पिटलमा उपचार गर्न सक्दिन, मेरो आर्थिक क्षमताले भ्याउँदैन । किनकि त्यहाँको उपचार निकै नै महँगो छ’, उनले भने । काठमाडौं कपनमा सामान्य परिवारमा जन्मिए पनि आफ्नो अथक प्रयास र बुबाको आफ्नो छोरा डाक्टर बनोस् भन्ने चाहनालाई पच्छाउँदै परिवारको कमजोर आर्थिक अवस्थाका बाबजुत पनि कडा मेहनत र लगनका साथ बोगटी डा बनेका हुन् । ‘पहिला डाक्टरलाई हेर्ने दृष्टिकोण फरक थियो, यो निकै इज्जतिलो पेसा थियो, त्यही भएर पनि त्यो बेलामा समाजमा आफ्नो छोरा पढेर ठूलो मान्छे बनोस्, डाक्टर बनोस् भन्ने चाहना हुन्थ्यो, म परिवारको त्यही चाहनालाई पच्छयाउँदै, अभाव अभावहरूका बीचमा पौँठेजोरी खेल्दै आफ्नै अथक मेहनेतले यो अवस्थामा आएको व्यक्ति हुँ’, उनी भन्छन् ।
पेसागत जीवनमा हालसम्म ५० हजारभन्दा बढी बिरामीहरूको उपचार गरिसकेका डा. बोगटी हस्पिटलमा छिरेसकेपछि कुनै पनि बिरामीलाई भेदभाव गर्न नहुने बताउँछन् । ‘बिरामी सबै एकै हुन, आफ्नो बिरामी र अरूको बिरामी फरक हुँदैन, सोर्स फोर्स लगाएर आएको बिरामी फरक हुँदैन । सबै बिरामी एकैनास हुन् । सबैलाई न्यायोचित हुने गरी, कुनै भेदभाव नगरी उपचार गराउनुपर्छ । म हस्पिटलमा छिर्दा दायाँबायाँ कतै नहेरी सिधा छिर्नुको कारण पनि यही हो’ उनी भन्छन्, ‘नत्र लाइनमा कोही आफन्त हुन्छन्, कोही साथीभाइ हुन्छन्, कोही सोर्सफोर्स लगाएर आएका हुन्छन् । सबैले आफ्नो बिरामीलाई छिटो हेरिदेउ भन्छन् । तर मेरो आस्थाले त्यो भन्दैन, लाइनमा उपचार गराउन बसेका सबै एकै हुन् । सबैले समानरूपमा उपचार पाउनुपर्छ ।’